एकैगाउँका चार विद्यार्थीको बसदुर्घटनामा मृत्यु भएपछि माझठाना शोकाकुल : स्थानीय बासिन्दाहरुद्वारा निष्पक्ष छानबिनको माग

एकैगाउँका चार विद्यार्थीको बसदुर्घटनामा मृत्यु भएपछि माझठाना शोकाकुल : स्थानीय बासिन्दाहरुद्वारा निष्पक्ष छानबिनको माग


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ असोज २०८३
  • 779
    Shares

पोखरा, २४ असोज २०८३।

पोखरा महानगरपालिकाको वडा नम्बर २८ कालिकास्थित कालिका इङ्लिस बोर्डिङ स्कुलको कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थी शुक्रबार बिहान ट्युसन पढ्न विद्यालय आउँदै थिए। उनीहरु चढेको ग २ ख १४१७ नम्बरको स्कुल बस बिहान ६ः३३ बजे कालिकास्थित ओख्लेको भिबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त भयो।

उक्त दुर्घटनामा परेर उनीहरुले आफ्नै आँखा अगाडी आफ़ुहरुसनगै बसमा आएका चार जना साथीहरुले ज्यान गुमाएको देख्न बाध्य भए। त्यति मात्र हैन , बसमा लिफ्ट मागेका एक जना बृद्धले पनि मृत्युवरण गरेको उनीहरुले देखे। एउटै गाउँका चार विद्यार्थीको मृत्यु भएपछि माझठाना यतिबेला शोकमा डुबेको छ।

सोही दुर्घटनामा बाँचेका बसका चालक र १३ जना बिद्यार्थीहरु अझै पनि पोखराका विभिन्न अस्पतालहरुमा उपचाररत छन्। दुर्घटनापछि स्थानीयवासी तत्काल उद्धारमा जुटेका थिए। सामुदायिक प्रहरी कालिकाका पूर्वअध्यक्ष विकल केसीसहित स्थानीयले भिरमा घाइते विद्यार्थीलाई पिठ्युँमा बोकेर सडकसम्म ल्याएका थिए। उद्धारका सामग्री नहुँदा पनि स्थानीयले जोखिम मोलेर घाइतेलाई उद्धार गरेको केसीले बताए।

स्थानीयका अनुसार दुर्घटनामा परेको बस निकै पुरानो थियो। बसको अवस्था कमजोर भएको भन्दै विद्यालय प्रशासनलाई पटक–पटक अर्को बस प्रयोग गर्न आग्रह गरिएको केसीले बताए। विद्यार्थीले समेत उक्त बसमा चढ्न आनाकानी गर्ने गरेको स्थानीयको भनाइ छ।

बस पुरानो भएकै कारण दुर्घटना भएको हुन सक्ने स्थानीयको आशङ्का भए पनि यसको पुष्टि भइसकेको छैन। सामान्य उकालो र फराकिलो पक्की सडकमा बस मोडिनुपर्ने ठाउँबाट सिधै भीरतर्फ खसेको स्थानीयले बताएका छन्। घाइते चालकले दुर्घटनाअघि एक्कासि अँध्यारो देखेको बताएको केसीले जानकारी दिए। दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पोखरा–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले दुर्घटनाले सिङ्गो गाउँलाई स्तब्ध बनाएको बताए। उनले दुर्घटनाको निष्पक्ष छानबिन गरी वास्तविक कारण पहिचान गर्नुपर्नेमा जोड दिए।

दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पोखरा महानगरपालिकाले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई दुर्घटनाको कारण अध्ययन गरी आवश्यक सुधारका उपायसहित सुझाव पेस गर्ने जिम्मेवारी दिइएको महानगरपालिकाले जनाएको छ।

दुर्घटनामा १३ वर्षीया ममता तिवारी, १४ वर्षीया रुमिका नेपाली, १४ वर्षीय अशिम कँडेल र सुवेच्छा तिवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। बसमा लिफ्ट मागेर यात्रा गरिरहेका माझठानाका ६५ वर्षीय बाबुराम तिवारीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

घाइतेमध्ये तीन जनाको गण्डकी मेडिकल कलेजमा र अन्यको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। बस चालक पोखरा–१५ निवासी ५७ वर्षीय तुलबहादुर गुरुङको ढाड र छातीमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार