रुकुम पश्चिम २१ असोज २०८३।
प्रहरीको नियन्त्रणमा रहेका रुकुम पश्चिमको आठविसकोट नगरपालिका–३ का वडाध्यक्ष तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश सदस्य केशरमान विक हिड्न अप्ठ्यारो भए जसरी खोच्याउँदै गरेको भिडियो सार्वजनिक भएको छ। उक्त भिडियोमा प्रहरीको घेरामा रहेका वडाध्यक्ष बिक हिड्न अप्ठ्यारो भए जसरी खोच्याई रहेका छन्।
यता प्रहरीले एक निर्माण व्यवसायीलाई धम्की दिँदै रकम मागेको उजुरी परेपछि मंगलबार बिहान गोपाल विकलाई पक्राउ गर्न पुगेको बेला प्रहरी टोलीको काम कार्यलाई अवरोध गरेको आरोपमा वडाध्यक्ष बिकलाई पक्राउ गरिएको जानकारी दिएको छ। पक्राउ गर्न खोजेक व्यक्ति गोपाल बिक वडाध्यक्ष केशरमान विकका भाइ भएको बताइएको छ।
गोपाललाई पक्राउ गर्ने क्रममा वडाध्यक्ष विकले प्रहरीको काममा अवरोध गर्नुका साथै प्रहरीमाथि अभद्र व्यवहार गरेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी वेदबहादुर पौडेलले दाबी गरेका छन्।
केशरमान विकविरुद्ध ‘राष्ट्र–सेवक कर्मचारीलाई बाधा–अवरोध खडा गरेको’ अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनलाई जिल्ला प्रशासन कार्यालयबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी पौडेलले जानकारी दिएका छन्।
🗣️ नेकपाको आपत्ति
यसैबीच, नेकपा रुकुम पश्चिमले विज्ञप्ति जारी गर्दै वडाध्यक्ष विकलाई प्रहरीले गरेको व्यवहारप्रति आपत्ति जनाएको छ। पार्टीले प्रहरीको कारबाहीलाई ‘अमानवीय र गैरकानुनी’ भएको दाबी गरेको छ।
नेकपाले वडाध्यक्ष विकलाई तत्काल रिहा गर्न, उनको निःशुल्क उपचारको व्यवस्था गर्न तथा उनीमाथि कुटपिट भएको भए त्यसमा संलग्न प्रहरी कर्मचारीमाथि कानुनी कारबाही गर्न माग गरेको छ।
प्रहरीले भने विकलाई पक्राउ गर्नुको कारण कानुनी अनुसन्धानसँग सम्बन्धित रहेको जनाएको छ। घटनाबारे दुवै पक्षबाट फरक–फरक दाबी सार्वजनिक भएपछि थप अनुसन्धानबाट वास्तविकता खुल्ने देखिएको छ।