नेकपाले नै देशभरि विष्फोट गराएको प्रहरीको निष्कर्ष, नेपाली भूमिमा नै नेपाली जनतामाझ रहेको नेकपा नेता पुनको दाबी

नेकपाले नै देशभरि विष्फोट गराएको प्रहरीको निष्कर्ष, नेपाली भूमिमा नै नेपाली जनतामाझ रहेको नेकपा नेता पुनको दाबी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २० मंसिर २०७४
  • 6.9K
    Shares

निर्वाचनको समयमा भइरहेका श्रृङ्खलावद्ध बम विष्फोटनका घटनाहरुका बारेमा सरकारले औपचारिक रुपमा कुनै मुख खोलेको छैन । तर नेपाल प्रहरीले उक्त श्रृंखलावद्ध बम विष्फोटका घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको निष्कर्ष निकालेको छ ।
काठमाडौंको नक्शालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल प्रहरीका प्रवक्ता डीआइजी मनोज न्यौपानेले विष्फोटका घटनाहरुमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
प्रहरीका अनुसार विष्फोटसहितका निर्वाचनविरोधी गतिविधिमा संलग्न नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ सयजना कार्यकर्ता समेत पक्राउ परेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । निर्वाचनविरोधी गतिविधिमा संलग्न सिके राउतका १३ जना कार्यकर्ता समेत पक्राउ परेका छन् ।
यसैबीच नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले आफ्ना करीब तीनहजार नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको दाबी गरेका छन् । उनले बुधबार साँझ आफ्नो फेसबुक स्टाटसमा यस्तो दाबी गरेका हुन् । उनले फेसबुक स्टाटसमा दलाल सत्ताकाबिरुद्ध आफ्ना नेता तथा कार्यकर्ता र आम नेपाली जनताले हिरासत र जेलबाट एक भएर लडेको पनि जिकिर गरेका छन् ।

उनले आफ्नो फेसबुक स्टाटसमा देशब्यापी भईरहेको बमविष्फोटनका घटनाहरु बारे केही बोलेका छैनन । तर उनले देशमा भएका र आफ्ना पार्टी संलग्न घटनाका बारेमा पार्टी महासचिव विप्लवले जिम्मेवारी लिने गरेको दाबी गरेपनि देशव्यपाी विष्फोटका बारेमा स्पष्ट केही बताएका छैनन् ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल छाडेर भारतमा लुकेको भनी प्रहरीले गरेको दाबीलाई उनले ठाडै अस्वीकार पनि गरेका छन् । उनले आफ्नो फेसबुक स्टाटसमा नेकपाका नेता तथा कार्यकर्ताहरु अहिले पनि नेपाली भूमिमा नेपाली जनताको साथमा रहेको स्पष्ट पारेका छन् ।

उनले महासचिव विप्लवकाे नेतृत्वमा बैज्ञानिक समाजवाद स्थापनाकाे निम्ति एकीकृत जनक्रान्ति निरन्तर अघि बढिरहेको उल्लेख गर्दै सरकारले घोषणा गरेको चुनाव असफल भैसकेको बताएका छन् ।

निर्वाचन सुरक्षाका लागि सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म

नेपाल प्रहरीले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सबै सुरक्षा व्यवस्था चुस्त पारिएको जानकारी दिएको छ । प्रहरीका अनुसार पहिलो चरणमा मतदान सम्पन्न भएका जिल्लाहरुमा मतपेटिका सुरक्षा र बिहीबार हुने दोस्रो चरणको निर्वाचनका लागि ९० प्रतिशत जनशक्ति परिचालन गरिएको छ । निर्वाचन सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेराना सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना तैनाथ गरिनेछ ।

सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरको परिचालन चुनावी सुरक्षाका लागि गरिनेछ । त्यस्तै मतदानस्थलको सुरक्षाका लागि आवश्यक जनशक्ति, हतियार र साधन स्रोतको परिचालन सम्पन्न भइसकेको छ ।

सुरक्षा अनुगमनका लागि डिएसपीको कमाण्डमा रहेका जिल्लाहरुमा एसपी, एसपीको कमाण्डमा रहेका जिल्लाहरुमा एसएसपी र एसएसपीको कमाण्डमा रहेका जिल्लाहरुमा डिआईजी खटाइएको छ ।

सुरक्षाका लागि केन्द्र र हरेक प्रदेशमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतिक्रिया