सार्कलाई पुनर्जीवन दिन आवश्यक

सार्कलाई पुनर्जीवन दिन आवश्यक


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३० कार्तिक २०७४
  • 10.3K
    Shares

काठमाडौं : तीन दशकअघि स्थापित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ‘कोमा’मा पुगिसकेको प्रबुद्ध व्यक्तिले बताएका छन्। स्थापनाकालदेखि नै निष्क्रिय अवस्थामा रहेको सार्कलाई पुनर्जीवन दिएर गतिशील बनाउन सदस्य राष्ट्रहरूले सामूहिक प्रयास गर्नुपर्ने उनीहरूको जोड छ। दक्षिण एसियाली मुलुकको सामाजिक, आर्थिक, सांस्कृतिक विकासमा सामूहिक प्रयास गर्ने उद्देश्यसहित सार्क गठन भएको थियो।

काठमाडौंमा जारी दक्षिण एसिया आर्थिक शिखर सम्मेलनमा सार्कलाई पुनर्जीवन दिनुपर्ने धारणा जोडतोडले उठेको छ। दक्षिण एसियाली मुलुकको समृद्धिमा सार्कको भूमिका कमजोर भएकोमा सहभागीले चिन्ता व्यक्त गरे। सम्मेलनको दोस्रो दिन ‘सार्क कहाँ ? दक्षिण एसियामा क्षेत्रीय सहयोगको भविष्य’ विषयक सत्रमा सार्क ‘कोमा’मै छ ? वा मरिसक्यो ? भनेर प्रश्न उठाइएको थियो। धेरैको भनाइ रह्यो, ‘सार्क मरिकेको छैन, ‘कोमा’बाट उठाउनुपर्छ।’

भारतको जबाहरलाल नेहरु विश्वविद्यालयका प्रा. दीपक नेयरले सार्क ‘कोमा’मा रहेको औंल्याउँदै पुनर्जीवन दिन सम्भव रहेको बताए। छलफलमा मुख्य वक्ता नेयरले सार्कलाई पुनर्जीवन दिन सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे। छलफलमा सहभागी वक्ताले सार्कलाई गतिशील बनाएर दक्षिण एसियाको आशा र भविष्यको केन्द्र बनाउनुपर्नेमा जोड दिएका थिए।

भारत र पाकिस्तानको आन्तरिक द्वन्द्वले सार्क चेपुवामा परेको छ। दुई देशबीचको सार्कको सम्मेलन पनि हुन सकेको छैन। दक्षिण एसियाली मुलुकको विकास र समृद्धिका लागि सार्कलाई सबल एवं सुदृढ बनाउनुपर्ने सहभागीले बताएका छन्। सम्मेलनमा सार्क मुलुकबीच आर्थिक एकीकरणका लागि अन्तरदेशीय अवरोधहरू हटाउनुपर्ने आवाज सबैभन्दा बढी उठेको छ।

सहज कनेक्टिभिटी, पूर्वाधार विकास, सूचना प्रविधि, पर्यटन विकास र ऊर्जाको विकास गर्न सकेमा सार्क मुलुकको समृद्धि सम्भव छ। सम्मेलनमा सहभागीले अन्तरदेशीय व्यापार प्रवद्र्धनमा देखिएका चुनौती समाधान गर्न सबै मुलक तयार हुनुपर्ने धारणा राखेका छन्। करिब ३० वर्षअघि सार्क स्थापना भएको हो। तर काम नै गर्न सकेको छैन। आठवटा मुलुक आबद्ध रहेको सार्कले भारत र पाकिस्तानको द्वन्द्वका कारण काम गर्न नसकेको विज्ञ बताउँछन्। साना राष्ट्रले सार्क भन्नेबित्तिकै भारतमात्र सोचे, अरू मुलुकलाई सार्क सोचेनन्। भारत भने सार्कमा अभिभाकत्व निभाउन पनि खासै तत्पर देखिएन।

सहज कनेक्टिभिटी, पूर्वाधार विकास, सूचना प्रविधि, पर्यटन विकास र ऊर्जाको विकास गर्न सकेमा सार्क मुलुकको समृद्धि सम्भव छ।

‘सबैको इन्डिया सेन्टर थिंकिङ भइदियो, सार्क मुलुकको समृद्धिमा त्यही नै सबैभन्दा ठूलो ब्यारियर बन्यो, अर्थविद् डा. हेमन्त दवाडीले भने, ‘इन्डिया शक्तिशाली मुलुक र ठूलो बजार भएकैले सबैको प्राथमिकतामा छ।’ सार्क सचिवालयलाई सक्रिय बनाउँदै साझा समृद्धिको उद्देश्य हासिल गर्न सामूहिक एकता आवश्यक रहेको उनको भनाइ छ।

सार्कले करिब दुई दर्जन महत्वाकांक्षी घोषणा गरिसकेको छ। तर काम गर्न सकेको देखिएन। ‘सबै घोषणा पूरा भइदिएको भए सार्क मुलुक स्वर्गतुल्य हुन्थे’, प्राडा. विश्वम्भर प्याकुर्‍यालले भने, ‘लगानी परिचालन, व्यापार सहजीकरण, भन्सार स्तरोन्नति, कनेक्टिभिटीलगायत थुप्रै काम गर्न बाँकी छ।’ सार्कमा साउथ एसिया इकोनोमिक युनियन स्थापनाको विषय सपना बनिसकेको छ। सम्मेलनमा युनियन गठनको विषयमा छलफल भए पनि त्यति महत्व पाएन।
सार्कले काम गर्न नसकेको विषयमा कसैले प्रश्न नउठाएको दवाडी बताउँछन्। सार्कलाई जिम्मेवार बनाउन सबैको उत्तिकै साथ चाहिने उनको तर्क छ।

‘सार्कप्रति सबैको अपेक्षा बढी भयो, सार्कले सबै समस्या समाधान गरिदिने सोचियो, अपेक्षाकृत रूपमा काम नहुँदा अहिले निराशा छाएको हो’, उनले भने।
सार्कमा आबद्ध आठ मुलुकलाई जोड्ने गरी मोटर भेहिकल एग्रिमेन्ट (एमभीए) घोषणा भएको थियो। यसमा सबै सदस्य राष्ट्र एकमत भएनन्। यसपछि भुटान, बंगलादेश, भारत र नेपाल (बीबीआईएन) मोटर भेहिकल एग्रिमेन्टलाई जोडतोडले उठाइयो। बीबीआईएन पनि भुटानको मन्त्रिपरिषद्मा रोकिएको छ। सार्क चेम्बर अफ कमर्सका अध्यक्ष सुरज वैद्य बीबीआईएन सफल हुनेमा आशंका व्यक्त गर्छन्। सम्मेलनमा अवरोध खडा गर्ने राष्ट्रलाई छोडेर बाँकी राष्ट्रको हितमा अगाडि बढ्नुपर्ने आवाज पनि उठेको छ।

दक्षिण एसियाली मुलुकको विकासका लागि व्यापार सहजीकरण र कनेक्टिभिटीमा जोड दिइएको छ। एक्काइसौं शताब्दीमा कनेक्टिभिटी बढाउन नसके पछाडि पर्ने सबैको तर्क छ। ‘नेपालबाट मैले अहिलेसम्म आफ्नो गाडी बंगलादेश लैजान सकेको छैन, कनेक्टिभिटीलाई हामीले जोड दिनैपर्छ’, वैद्यले भने, ‘सार्क मुलुकबीच सहज रूपमा सामान ओसारपसार र आवतजावत गर्न सक्नुपर्छ।’ अर्थविद् प्याकुर्‍याल पनि सार्क मुलुकको प्रमुख समस्या कनेक्टिभिटी नै रहेको बताउँछन्।

‘नेपालबाट पाकिस्तानको कराँची जान ओमान, दुबई, दोहा वा बैंकक नै पुग्नुपर्छ, सीधा हवाई सम्पर्क छैन’, उनले भने, ‘नेपालबाट पाकिस्तान पुग्नभन्दा अमेरिका पुग्न छिटो हुन्छ।’ डाइरेक्ट फ्लाइटमा काठमाडौंबाट सवा तीन घन्टामा पुगिने कोलोम्बो पुग्न १४ घन्टाभन्दा बढी लाग्छ। सम्मेलनमा सहभागीले सार्क मुलुकका राजधानी काबुल, कोलोम्बो, माले, काठमाडौं, थिम्पु, दिल्ली र ढाका सीधा हवाई सम्पर्कबाट जोडिनुपर्नेमा जोड दिएका छन्। सार्क मुलुकलाई जल, स्थल र वायुमार्गबाट आपसमा जोड्नुपर्ने आवश्यकताबारे छलफल भएको छ।

प्रतिक्रिया