पाेखरेली खानेपानीकाे मुहान ‘धमिल्याउने’ ठेक्का अघि नबढाउन पुनरावेदनकाे आदेश

पाेखरेली खानेपानीकाे मुहान ‘धमिल्याउने’ ठेक्का अघि नबढाउन पुनरावेदनकाे आदेश


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ साउन २०७३
  • 9.7K
    Shares

पोखराको खानेपानीको मुख्य स्रोत मर्दीखोला मुहानबाटै ढुंगा, गिटी, बालुवा निकाल्न जिल्ला विकास समिति कास्कीले आह्वान गरेको ठेक्का प्रक्रिया अगाडि नबढाउन पुनरावेदन अदालत पोखराले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सत्यराज गुरुङ र हरिप्रसाद बगालेको संयुक्त इजलासले बुधबार अन्तरिम आदेश जारी गरेको हो ।
पानी ल्याउन बाँधिएको बाँधलाई पनि असर पुग्ने र प्रदूषण बढ्ने सम्भावनालाई नजरअन्दाज गर्दै जिविसले ठेक्का आह्वान गरेको थियो । त्यस विरुद्ध अधिवक्ता सुनील गौतमले पुनरावेदन अदालतमा अन्तरिम आदेशसहितको उत्प्रेषण मिश्रित परमादेश जारी गरी पाउँ भनी रिट हालेका थिए ।

जेठ १६ गते कास्कीका नदीनालाका घाटहरुको ठेक्का आह्वान गर्दा मर्दीघाट पनि समेटेको थियो । न्यूनतम साढे ३६ लाख रुपैयाँ तोकेर जिविसले ठेक्का आह्वान गरेकोमा ५५ लाख रुपैयाँसम्मको बोलपत्र परेको थियो । तर जिविसले उक्त टेन्डर प्रक्रिया स्थगितचाहिँ गरेको थियो । त्यसबीचमै गौतमले पुनरावेदनमा रिट हालेका हुन् ।

‘खानेपानीको मुहानभन्दा माथि ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्ने गरी ठेक्का आह्वान गरेको कार्यबाट खानेपानी प्रदूषित हुन गई उपभोक्ताको जनस्वास्थ्यमा असर पर्न जान सक्ने स्थिति देखिँदा सुविधा र सन्तुलनको दृष्टिकोणबाट मुद्दाको अन्तिम टुंगा नलागेसम्म टेन्डर सम्बन्धी काम कारबाही यथास्थितिमा राख्नू र सो सम्बन्धमा थप कारबाही नगर्नू नगराउनू’ अन्तरिम आदेशमा भनिएको छ ।

अदालतले जिल्ला विकास समिति कास्कीबाट पोखरा उपमहानगरपालिका र खानेपानी संस्थासँग समन्वय गरेको नदेखिएको बताएको छ । उक्त रिट निवेदनमा निवेदक अधिवक्ता सुनील गौतम, अधिवक्ता मेघमणि पौडेल, अधिवक्ता जनकल्याण पराजुली र अधिवक्ता शुकदेव गौतमले बहस गरेका थिए ।

रिटमा निवेदकले उपभोक्तालाई गम्भीर असर पर्ने गरी मर्दिखोला मुहानको पानीमा धुलो, धुँवासमेत परी असर परेको, पानीको परिणाममा असर पर्ने गरी खोलाबाट गिट्टी, बालुवा झिक्ने काम भएको उल्लेख थियो । दैनिक सयौं ट्रक, ट्याक्टर सो मुहान क्षेत्रमा आवातजावात गर्दा धुँवा, धुलो पानीमा मिसिइ पानीको रुपरंगसमेत फरक पर्न गएको पनि निवेदनमा अभिवक्ताले लेखेका थिए ।

सयौं व्यवसायी कामदारले खोलामा दिसापिसाब समेत गर्ने भई गम्भीररुपमा प्रदूषित हुन जाँदा पानी पिउन अयोग्य भएको र यस वर्ष पनि त्यसलाई निरन्तरता दिएमा र सो पानी उपभोक्ताले उपयोग गर्दा स्वास्थ्यमा असर परी महामारी फैलन सक्ने पूर्ण सम्भावना रहेको प्रष्ट रहेको भन्दै अन्तिम आदेश समेत गरिएको थियो ।

खानेपानी संस्थानले वितरण गर्ने पानीमध्ये ९० प्रतिशत मर्दीखोलाकै भर हो । तर त्यसैलाई निसाना साँधेजसरी जिविसले गिटीबालुवा निकाल्न ठेक्का आह्वान गरेको थियो ।

संस्थानको पोखरा कार्यालय प्रमुख निरण महर्जनका अनुसार मर्दीखोलाबाट पोखरामा दैनिक साढे ४ करोड लिटर आपूर्ति हुँदै आएको छ । जिविसले पानीको मुहानमा ठेक्का दिएपछि त्यसबारे संस्थानले गुनासो गरेको थियो ।

प्रतिक्रिया