देउवाको दोस्रो पटकको मन्त्रिपरिषद् विस्तार असमावेशी”महिला ३ जनजाती न्युन”

देउवाको दोस्रो पटकको मन्त्रिपरिषद् विस्तार असमावेशी”महिला ३ जनजाती न्युन”


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १२ साउन २०७४
  • 7.5K
    Shares

काठमाडौं: ३३ प्रतिशत महिला सहभागिताको माग गर्दै प्रधानमन्त्री पत्नी एवं कांग्रेस सांसद डा. आरजु राणा देउवाले ज्ञापनपत्र बुझाए पनि पति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा तीन जना महिलाले मात्र स्थान पाएका छन्।

राणाकै संयोजकत्वमा केही दिनअघि संसद्मा महिला सांसदको समूह (ककस) गठन भए पनि मन्त्रिपरिषद्मा महिलालाई अत्यन्त न्यून सहभागिता गराइएको भन्दै कांग्रेस सांसदले नै असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्रीसहित कांग्रेसबाट १४ जना मन्त्री नियुक्त हुँदा एक जना महिला अम्बिका बस्नेतले मात्र मन्त्रिपरिषद्मा स्थान पाएकी छन्।

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई केन्द्रमा राखेर मन्त्रिपरिषद्मा नयाँ र प्रत्यक्ष निर्वाचित सांसदलाई प्राथमिकता दिइएको भए पनि कांग्रेसमा प्रत्यक्ष निर्वाचित ७ जनामध्ये कुनै पनि महिला सांसदलाई मन्त्री नियुक्त गरिएन।

‘राजनीतिक संघर्षमा महिलाको स्थान उच्च रहे पनि पदमा महिलालाई पछि पारियो’, कांग्रेस संसदीय दलकी पूर्वसचेतक एवं सांसद कमला पन्तले अन्नपूर्णसँग भनिन्, ‘महिला सहभागिता न्यून गरिएकोमा सामूहिक रूपमा पार्टी नेतृत्वसँग स्पष्टीकरण सोध्छौं।’ कांग्रेसकै अर्की सांसद पार्वती डिसी चौधरीले पनि महिलाको सहभागिता न्यून गरिएकोमा असन्तुष्टि जनाइन्। ‘राजनीतिक संघर्षमा महिलालाई अघि सारिन्छ तर पद दिने बेलामा पछि पार्ने संस्कार अझै हटेन।’

प्रधानमन्त्री नियुक्त भएको ४९ दिनपछि देउवाले बुधबार मन्त्रिपरिषद् विस्तार गरे पनि समावेशी दृष्टिकोणले विस्तार निकै कमजोर देखिएको छ। प्रधानमन्त्रीसहित २७ सदस्यीय मन्त्रिपरिषद्मा महिला, दलित, जनजातिको सहभागिता न्यून छ।

कांग्रेसबाट १३, माओवादी केन्द्रबाट ९, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट १ जना मन्त्री थपिए पनि समावेशी चरित्र नभएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका छन्। ‘राज्यका सबै निकायलाई समावेशी बनाउन यति ठूलो राजनीतिक परिवर्तन गर्‍यौं तर कुरा एकातिर काम अर्कै गर्ने भएपछि के टिप्पणी गर्नु’, एमालेका युवा सांसद रवीन्द्र अधिकारीले भने।

कांग्रेसबाट यज्ञबहादुर थापा (कानुन, न्याय तथा संसदीय मामिला), सञ्जय गौतम (सिँचाइ), रामकृष्ण यादव (कृषि), राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद), भीमसेनदास प्रधान (रक्षा), अम्बिका बस्नेत (सहकारी तथा गरिबी), मोहनबहादुर बस्नेत (सूचना तथा सञ्चार), वीरबहादुर बलायर (भौतिक पूर्वाधार तथा यातायात), मीनबहादुर विश्वकर्मा (वाणिज्य) र महेन्द्र यादव (खानेपानी तथा सरसफाइ) ले मन्त्रालयको जिम्मेवारी पाएका छन्।

त्यस्तै, माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल (स्वास्थ्य), टेकबहादुर बस्नेत (सामान्य), शिवकुमार मण्डल (आपूर्ति), महेन्द्रबहादुर शाही (ऊर्जा), आशा कोइराला (महिला, बालबालिका तथा समाजकल्याण), सन्तकुमार थारू (पशुपक्षी विकास), फोरम लोकतान्त्रिकबाट जितेन्द्र देव (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), गोपाल दहित (भूमि सुधार तथा व्यवस्था) र नेकपा (संयुक्त) बाट मिथिला चौधरी (जनसंख्या तथा वातावरण) मन्त्री नियुक्त भएका छन्।

कांग्रेसबाट उपप्रधानसहित यसअघि गोपालमान श्रेष्ठ शिक्षा, ज्ञानेन्द्रबहादुर कार्की अर्थ र श्रम तथा रोजगार मन्त्री भइसकेका छन्। माओवादी केन्द्रबाट कृष्णबहादुर महरा, प्रभु साह र जनार्दन शर्मा तथा फोरम लोकतान्त्रिकबाट अध्यक्ष विजय गच्छदार पहिलो चरणमै देउवा नेतृत्वको सरकारमा मन्त्री छन्।

प्रतिक्रिया