लमजुङ सदरमुकाम बेसीशहरको वडा नम्बर ७ हाइस्कुल चोकको एउटा घरमा मध्यरातमा आगलागी हुँदा तीनवटा घर पूर्ण रुपमा क्षती भएका छन् । आगलागीबाट रामबहादुर विकको सुनचाँदी पसल, मिना अधिकारीको फलफुल तथा तरकारी पसल र कृष्ण विकको किराना पसल पूर्ण रुपमा क्षती भएको हो । तीनवटै घर हेमप्रसाद घिमिरेको रहेको खुल्न आएको छ । उनले सबै पसल भाडामा लगाएका थिए ।
आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । दुवै पसलमा रहेको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक समिरचन्द्र खरेलले बताए ।
पसलमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको इन्सपेक्टर बुद्धिसागर पुरीले बताए । प्रहरी र स्थानीयले विद्युत् आउने जाने समस्या साथै हाइ भोल्टेज आउनेजाने समस्याले फ्रिजमा विद्युत् सर्ट हुन गई आगलागी भएको हुनसक्ने बताएका छन् ।
प्रहरीका अनुसार राती ठूलो पानी आएको र कतै तारमा पानी परेर विजुली सर्ट भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार शनिबार राति १ बजेर २० मिनेट जाँदा आगलागी भएको खबर प्राप्त भएको हो । आगलागी भएको थाहा पाउनासाथ दमकल, प्रहरी र स्थानियको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिइएको थियो । आगलागी नियन्त्रका क्रममा २ जना प्रहरी सामान्य घाइते भएका छन् ।