भागे माओवादी नेता अक्षय कोषबाट

भागे माओवादी नेता अक्षय कोषबाट


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ असार २०७४
  • 11.5K
    Shares

काठमाडौं : माओवादी केन्द्रले निर्णय भएको दुई वर्षसम्म पनि केन्द्रीय स्तरमा अक्षय कोष स्थापना गर्न सकेको छैन । पार्टी अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा कोष स्थापना गर्ने निर्णय भएको थियो । १० वर्षे’जनयुद्ध’, जनआन्दोलनलगायत आन्दोलनका सहिद, बेपत्ता परिवारका छोराछोरीको पठनपाठन तथा व्यवस्थापन, घाइते अनि अंगभंग भएकाहरूको उपचारका लागि कोष बनाउने निर्णय केन्द्रीय समितिले गरेको थियो ।

कोष खडा गर्नका लागि ठोस योजना बनाउन नसक्दा दुई वर्षसम्म निर्णय अलपत्र परेको हो । कोष स्थापनाका लागि अध्यक्ष दाहालले १ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको थियो । यद्यपि, उहाँले पनि कोष स्थापना गरेर रकम भने जम्मा गराइसक्नुभएको छैन । अन्य नेताले भने कोषका लागि सहयोग राशिको’टोकन’ नै घोषणा गरेका छैनन् । अध्यक्षदेखि साधारण सदस्यसम्म स्वेच्छिक रूपमा सहयोग संकलन गरी कोष सञ्चालनमा ल्याउने जनाइएको थियो ।


-दुई वर्षमा पनि अक्षय कोष स्थापना हुन सकेन
-दाहालले घोषणा गरेको रकम पनि जम्मा भएन
-जेनतेन धानिँदै सहिद प्रतिष्ठान


कोषको शीर्षकमा अहिलेसम्म कुनै रकम जम्मा नभएको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।’नयाँ सदस्य बन्न चाहने र सदस्यता नवीकरण गर्नेहरूबाट स्वेच्छिक रूपमा पैसा जम्मा गरेर कोष निर्माण गर्ने योजना थियो’, केन्द्रीय कार्यालयमा कार्यरत एक नेताले अन्नपूर्णसँग भने,’तर, अहिलेसम्म केन्द्रीय कार्यालयमा त्यसरी पैसा जम्मा भएको छैन । नेताहरूले गम्भीरतापूर्वक चासो देखाएको पनि देखिँदैन ।’

कोष परिचालनको टीओआर बन्न नसक्दा केन्द्रीय कार्यालयमा रकम जम्मा हुन नआएको स्रोतले जनाएको छ । ती नेताका अनुसार कतिपय जिल्ला तथा मोर्चाको तहमा सदस्यता नवीकरण गर्दा कोषका लागि रकम जम्मा गरिएको छ । तर, त्यसरी जम्मा गरिएको रकम सम्बन्धित कमिटीले केन्द्रमा पठाएका छैनन् ।

सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्दा लिइने रसिदको अधकट्टीमै माओवादीले कोषका लागि छुट्टै रकम स्वेच्छिक रूपमा माग गरेको छ । यसले गर्दा रकम जम्मा भएको हुन सक्ने अनुमान केन्द्रीय कार्यालयले गरेको छ । अहिले सदस्यता नवीकरण अभियान चलिरहेको माओवादीले जनाएको छ ।

 

जेनतेन धानिँदै छ सहिद प्रतिष्ठान

माओवादीले सहिद परिवारलाई संगठित गर्ने र उनीहरूको पालनपोषण, शिक्षादीक्षाका लागि सहयोग गर्ने नीतिअनुसार सहिद प्रतिष्ठान सञ्चालन गर्दै आएको छ । अन्य अभियानका तुलनामा यो प्रतिष्ठान भने जसोतसो चलेको देखिएको छ । माओवादीले प्रतिष्ठानका तर्फबाट पाँच जिल्लामा १४ सय विद्यार्थी पढाउँदै आएको छ । राज्यका तर्फबाट करिब १४ करोडसहित माओवादीका सांसदले जनही २ हजारका दरले गरी मासिक १ लाख ६४ हजार रुपैयाँ प्रतिष्ठानमा जम्मा हुँदै आएको छ । दोलखा, पोखरा, डोटी, दाङ र सुनसरीमा विद्यालय सञ्चालनमा छ ।

प्रतिक्रिया