सुर्खेत : आन्दोलनरत मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीले रजिष्टारको गाडीमा तोडफोड गरेका छन्। विस्तारित कार्यालयमा रोकिराखेको रजिस्टार डा. महेन्द्रकुमार मल्लले चढ्दै आएको गाडीमा शुक्रबार दिउँसो तोडफोड गरिएको हो। ढुंगा प्रहारबाट गाडीमा क्षति पुगेको छ।
टोलीले रजिष्ट्रार चढ्ने बा १७ च ४२५५ नम्बरको गाडी तोडफोड गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ। गत जेठ २७ गतेदेखि विभिन्न माग राख्दै विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका छन्।
विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले पार्किङ गरेको गाडीमा तोडफोड भएकाको बताउनुभयो। उहाँका अनुसार गाडीको सीसा, ढोका र अन्य भागमा क्षति पुगेको छ। विद्यार्थी संगठनले भने भण्डाफोर कार्यक्रम अन्तर्गत गाडीमा तोडफोड गरिएको बताएका छन्।
विश्वविद्यालयले आफूखुशी आंगिक क्याम्पस स्थापना र निजी संस्थालाई सम्बन्धन दिन लागेको विरोधमा विद्यार्थी संगठन आन्दोलनमा छन्। यही क्रममा विश्वविद्यालयले शुक्रवार संगठनहरुलाई वार्तामा बोलाएको थियो। आन्दोलनरत विप्लब अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य धन बहादुर नेपालीले वार्तामा बोलाएर अपमान गरिएकाले तोडफोड भएको स्वीकार गर्नुभयो।
मागको सम्बोधन गर्नुको साटो पदाधिकारीले पेलेरै जाने रणनीति बनाएकाले सहमति हुन नसकेको उहाँको भनाइ छ। साथै आफूहरु संयमित भए पनि विश्वविद्यालय बल प्रयोग गर्न अग्रसर भएको उहाँले उल्लेख गर्नुभयो। यही अवस्था कायम रहे थप क्षतिको जिम्मेवारी विश्वविद्यालय नै हुने उहाँको भनाइ छ।
स्थापना कालदेखि नै बिवादमा फस्दै आएको यो विश्वविद्यालयमा पछिल्लो समय केही विद्यार्थी संगठनले आन्दोलन सुरु गरेका छन्। आन्दोलनकै क्रममा संगठनले विश्वविद्यालयमा लगाएको ताला केही दिनअघि विद्यार्थीले फोडिदिएका छन्।
आन्दोलनकै विषयमा विद्यार्थी संगठनभित्र नै बिवाद रहेको छ। नेविसंघ दुई खेमामा विभाजित बनेको छ भने अनेरास्ववियुले आन्दोलनमा सहभागिता नरहेको जनाएको छ। यस्तै विश्वविद्यालयका विद्यार्थीहरुले पनि आन्दोलनका व्यक्तिगत स्वार्थ रहेको भन्दै संगठनले लगाएको ताला फोडिदिएका छन्।