विराटनगर । विराटनगरको सिमावर्ती बजार जोगबनी गएका तीनजना नेपालीको रेल दुर्घटनामा परी मृत्यु भएको छ ।
धनुषा, सखुवागाछीका ३५ बर्षीयय बिनोद यादव र मोरङ कदमाहा-८ का ३५ वर्षका रमेश कामत रहेका छन । यस्तै कदमाहा-८ कै ऋषिदेव समुदायका अन्य एक युवकको समेत दुर्घटनामा ज्यान गएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए ।
प्रहरी निरीक्षक यादवका अनुसार एउटै मोटरसाइकलमा सवार रहेका उनीहरु रेल्वेको लिक क्रस गर्ने क्रममा रेल दुर्घटनामा परेका थिए ।
हिजो राति पौने आठ बजे जोगबनीबाट कटिहार तर्फ जान लागेको रेलले उनीहरुलाई जोगबनी रेल्वे स्टेशनदेखि १ किलोमिटर दक्षिणतर्फको इमली चोकमा ठक्कर दिएको थियो ।
रेलको चक्का मुनि परेका उनीहरुलाई मोटरसाईकल समेत रेलले झण्डै एक सय मिटरसम्म घिसारेको थियो ।
तीनै जनाको शव क्षतविक्षत अवस्थामा छ । मृतक तीनैजना मोरङको कदमाहा-८ स्थित लोटस प्लास्टीक फर्निचर उद्योगमा कार्यरत कर्मचारी रहेको जनाइएको छ । उनीहरुको शव पोष्टमार्टमका लागि अररिया लगिएको छ ।