भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या चारसय ७७ पुग्यो, तीन हजार दुईसय ५३ जनाको उद्धार

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या चारसय ७७ पुग्यो, तीन हजार दुईसय ५३ जनाको उद्धार


  • जन संचार
  • शुक्रबार, १२ भाद्र २०८३
  • 1.3K
    Shares

काठमाडौं, १२ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८३ भदौ १२ गते मध्यान्ह १२ बजेसम्म बाढी तथा त्यसबाट सिर्जित विपद्मा परी विभिन्न जिल्लामा ४७७ जनाको शव फेला परेको हो।

प्राधिकरणको विवरणअनुसार सबैभन्दा धेरै शव चितवनमा १८६ जना फेला परेका छन्। यस्तै नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ। गोरखामा फेला परेका शवमा विभिन्न मानव अंगसमेत समावेश रहेको जनाइएको छ।

बाढीपछि अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार ९७७ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। सम्पर्कविहीनमध्ये ५१७ जना विदेशी नागरिक रहेका छन् भने विदेशमा बसोबास गर्ने तथा नेपाल घुम्न आएका १२७ जना नेपाली नागरिक समेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

त्यसैगरी नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना सम्पर्कविहीन छन्। भन्सार कार्यालयका १५ जना र अध्यागमन कार्यालयका ४ जना समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

स्थानीय तहका विपद् आपत्कालीन सञ्चालन केन्द्र (DEOC) बाट प्राप्त विवरणअनुसार रसुवामा १६१, नुवाकोटमा १ र मकवानपुरमा ६६ जना सम्पर्कविहीन छन्।

३ हजार २५३ जनाको उद्धार

विपद्पछि सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म ३ हजार २५३ जनाको उद्धार गरिएको छ। बाढी तथा पहिरो प्रभावित क्षेत्रमा फसेका नागरिकलाई स्थल तथा हवाई माध्यमबाट उद्धार गर्ने कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।

उद्धारका क्रममा घाइते भएका ७३ जनालाई उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा लगिएको छ। घाइतेमध्ये रसुवाका ४३, धादिङका ३ र नुवाकोटका २७ जना रहेका छन्।

१५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा सुरक्षा व्यवस्थाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्राधिकरणका अनुसार हालसम्म १५ हजार १०८ जना सुरक्षाकर्मी परिचालन भएका छन्।

परिचालित सुरक्षाकर्मीमध्ये नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बल नेपालका ३ हजार ६५८ जना रहेका छन्।

सुरक्षाकर्मीले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, फसेकाहरूको उद्धार, शव खोजी तथा व्यवस्थापन, जोखिमयुक्त स्थानबाट नागरिकको स्थानान्तरण र राहत वितरणमा काम गरिरहेका छन्।

१५ वटा हेलिकप्टर उद्धारमा

दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन १५ वटा हेलिकप्टर परिचालन गरिएको छ। तीमध्ये नेपाली सेनाका ६ वटा र निजी क्षेत्रका ९ वटा हेलिकप्टर रहेका छन्।

हवाई उद्धारमार्फत बाढी तथा पहिरोका कारण सडकमार्गबाट पुग्न कठिन भएका क्षेत्रमा फसेका नागरिकलाई सुरक्षित स्थानमा ल्याउने तथा आवश्यक राहत र उद्धार सामग्री पुर्‍याउने कार्य भइरहेको छ।

भोटेकोशी र त्यससँग जोडिएका नदीमा आएको बाढीले रसुवादेखि नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीका विभिन्न क्षेत्रमा ठूलो मानवीय क्षति पुर्‍याएको छ। नदीको बहावसँगै तल्लो तटीय क्षेत्रमा समेत शव फेला पर्ने क्रम जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने देखिएको छ।

बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सरकारले प्राथमिकतामा राखेको छ। सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय बासिन्दा तथा आफन्तसमेत सम्भावित स्थानमा खोजीमा सक्रिय छन्। पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या ४७७ पुगिसकेको र ९७७ जना अझै सम्पर्कविहीन रहेकाले विपद्को मानवीय क्षतिको पूर्ण विवरण आउन अझै समय लाग्ने देखिएको छ।

प्रतिक्रिया