पोखरा, १२ भदौ २०८३।
पोखरा । पोखरा महानगरपालिका–१७ पोखरा विमानस्थल नजिक हर्कमेयर चोकमा सडक नालीको पानीको भलले बगाउँदा आमा–छोरी घाइते भएका छन्।
बुधबार दिउँसो करीब चार बजेको समयमा पोखरा–१७ हर्कमेयर चोकमा ग १३ प २८५९ नम्बरको स्कुटरमा सवार भई बिरौटाबाट पृथ्वीचोकतर्फ आउँदै गरेकी पोखरा महानगरपालिका–३० ढुङ्गेपाटन बस्ने २६ वर्षीया सुष्मा दाहाल स्कुटर साइड लगाएर झरी हिँड्ने क्रममा सडक नालीबाट आएको पानीको तीव्र भलले बगाएको प्रहरीले जनाएको छ। सो क्रममा उनकी २ वर्षीया छोरी रानीका दाहाल पनि भलमा बगेकी थिइन्।
घटनाको सूचना प्राप्त भएपछि प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यबहादुर बोगटीको कमाण्डमा २१ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। स्थानीयवासीको सहयोगमा प्रहरीले दुवै जनालाई करिब १६ः२३ बजे पोखरा–१७ बिरौटास्थित नहर कुलोबाट उद्धार गरेको हो।
उद्धार गरिएका आमा–छोरीलाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ।
प्रहरीका अनुसार दुवै जनाको शरीरमा बाहिरी चोटपटक नदेखिए पनि अवस्था गम्भीर (सिरियस) रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।