रसुवा , १५ भदौ २०८३।
गोसाइँकुण्ड क्षेत्रमा आएको बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि रातिसमेत काम भइरहेको छ।
उद्धार टोलीले सुरुङको प्रवेशमार्गमा जम्मा भएको माटो, लेदो र अन्य अवरोध हटाउँदै करिब ४०० मिलिमिटर बाक्लो ‘क्राउन स्ल्याब’ फुटाउन ब्लास्टिङ गरेको छ। यसअघि डीटीएच मेसिनमार्फत केबल टनेलसम्म प्वाल बनाएर सुरुङभित्रको अवस्था निरीक्षण गरिएको थियो।
बनाइएको प्वालबाट कम्प्रेसरमार्फत हावा र अक्सिजन पठाउनुका साथै प्रकाशको व्यवस्था गरिएको छ। यसबाट सुरुङभित्र रहेका व्यक्तिले हावा पाइरहेको र सुरक्षित रहेको आशा गरिएको उद्धार टोलीले जनाएको छ।
उद्धार टोली टनेल पोर्टसम्म पुगिसकेको छ। पोर्ट सफा भएपछि अक्सिजनसहित उद्धारकर्मीलाई सुरुङभित्र पठाउने तयारी छ। क्यामरासमेत सुरुङभित्र पठाएर अवस्थाको निगरानी गर्ने योजना छ। पोर्टबाट करिब १८० मिटर अगाडि रहेको सम्भावित ‘वर्किङ स्पेस’ सम्म पुगेपछि फसेका व्यक्तिको वास्तविक अवस्था र स्थानबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।
उद्धारमा भारतीय टोली पनि
भारतबाट आएको टनेल उद्धार विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी चिलिमे र लाङटाङ क्षेत्रका जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार गरिरहेको छ।
रसुवामा आएको बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा फसेका करिब ५०० जनाको पाँच दिन बितिसक्दा पनि उद्धार हुन सकेको छैन। प्रतिकूल मौसम, लेदो र क्षतिग्रस्त संरचनाका कारण उद्धारमा कठिनाइ भए पनि नेपाली सेना र प्राविधिक टोलीले रातदिन काम गरिरहेका छन्। सुरुङमा फसेका मजदुर तथा इन्जिनियरका परिवारले शीघ्र उद्धारका लागि दबाब बढाइरहेका छन्।