नुवाकोटका बाढीपीडितहरुको विद्यालयमा बास : सरकार र राहतकर्मी कुर्दै पाउनका लागि गास

नुवाकोटका बाढीपीडितहरुको विद्यालयमा बास : सरकार र राहतकर्मी कुर्दै पाउनका लागि गास


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ भाद्र २०८३
  • 912
    Shares

नुवाकोट , १५ भदौ २०८३।

भोटेकोशी हुँदै आएको त्रिशूली नदीको बाढीले घरबारविहीन बनेका नुवाकोटका बाढीपीडित अहिले स्थानीय विद्यालय तथा अन्य अस्थायी आश्रयस्थलमा बस्न बाध्य छन्। घर बाढीले बगाएपछि सुरक्षित स्थानको खोजीमा पुगेका उनीहरूको दैनिकी अहिले सरकार र स्थानीय प्रशासनले उपलब्ध गराएको राहतमा निर्भर बनेको छ।

बाढीबाट विस्थापित नागरिकलाई जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वयमा विभिन्न आश्रयस्थलमा राखिएको छ। प्रशासनका अनुसार हालसम्म ७९१ जनालाई विभिन्न आश्रयस्थलमा व्यवस्थापन गरिएको छ। कतिपय प्रभावित भने आफन्तको घरमा आश्रय लिएर बसेका छन्।

आश्रयस्थलमा बसेका पीडितका लागि सरकारले खानेपानी, खाद्यान्न तथा आवश्यक राहत सामग्री उपलब्ध गराउने व्यवस्था गरेको छ। स्थानीय तह, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाको सहकार्यमा राहत वितरण र प्रभावितको व्यवस्थापन भइरहेको छ।

बाढीले नुवाकोटका सयौँ घरमा क्षति पुर्‍याएको छ भने सडक, पुल र विद्यालयलगायतका संरचनामा समेत ठूलो क्षति भएको छ। विदुरको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयसहित जिल्लाका केही विद्यालय बाढीबाट प्रभावित भएका छन्।

घर गुमाएका परिवारका लागि तत्कालको गाँस र बासको व्यवस्था भए पनि उनीहरूको दीर्घकालीन पुनःस्थापना भने चुनौतीपूर्ण देखिएको छ। प्रशासनले प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत र आश्रय व्यवस्थापनलाई प्राथमिकतामा राखिएको जनाएको छ।

बाढीपीडितका लागि विद्यालय अहिले पढ्ने ठाउँभन्दा बढी सुरक्षित छानो बनेको छ। राहतको भरमा दिन कटाइरहेका उनीहरूलाई अब अस्थायी आश्रयबाट सुरक्षित र स्थायी बसोबासतर्फ लैजानुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया