रसुवा बाढी अपडेट : पोखरा ल्याइएका शबमध्ये १५ को सनाखत, एउटा शवमा तीन परिवारको दाबी

रसुवा बाढी अपडेट : पोखरा ल्याइएका शबमध्ये १५ को सनाखत, एउटा शवमा तीन परिवारको दाबी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ भाद्र २०८३
  • 779
    Shares

पोखरा , १५ भदौ २०८३।

भोटेकोशी बाढीपछि विभिन्न स्थानबाट संकलन गरी पोस्टमार्टमका लागि पोखरा ल्याइएका १०२ वटा शबहरु मध्ये १५ वटाको मात्र सनाखत भएको छ भने एउटा शबमा तीन परिवारले आफ्नो भएको दाबी गरेका छन्।

धादिङ, नवलपरासी पूर्व, गोरखा र तनहुँका विभिन्न क्षेत्रबाट ल्याइएका १०२ वटा शबहरु मध्ये १५ वटाको सनाखत भै शव परीक्षणपछि सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको हो ।

सनाखत भई १५ शव परिवारले बुझेका छन् । जसमा भक्तपुर नगरपालिका–९ का ३६ वर्षीय सत्यसुन्दर प्रजापति, नवलपुरका ३७ वर्षीय यादव भण्डारी, इलामको सुन्दकपुर–३ का ३८ वर्षीय दिवानन्द सुवेदी, हेटौंडा–५ का ३६ वर्षीय उद्धव खड्का, अर्घाखाँचीको पाणिनी–७ निवासी ४५ वर्षीय नारायणबहादुर थापा, धादिङ खनियाबास–५ निवासी ४२ वर्षीय सन्जोग घर्तीमगर, नुवाकोट विदुर–७ निवासी ४५ वर्षीया शारदा ढकाल रहेका छन् ।

त्यस्तै, सनाखत हुनेमा पाल्पाको तानसेन–१० निवासी ३४ वर्षीय दीपेन्द्र बिष्ट, गोरखा पालुङटार–६ निवासी ५५ वर्षीय यमबहादुर थापा, नुवाकोट विदुर–१० निवासी ५ वर्षीय प्रतिन्स तामाङ, रसुवाको बेत्रावती बजार बस्ने ३ वर्षीय प्रभाष भन्ने पुरुषोत्तम रैला, काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल–६ निवासी ४६ वर्षीय डिकबहादुर कायस्थ, सप्तरीको खडक–५ निवासी २८ वर्षीय सन्तोष चौधरी र गोरखाको पालुङटार–५, चारकुने निवासी ४० वर्षीय केदार पण्डितको सनाखत भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता चित्राङ्गत बरालले जानकारी दिए । पोखरा ल्याइएका १ सय २ शवमध्ये १५ जनाको सनाखत गरी परिवारका सदस्य तथा आफन्तलाई बुझाइएको हो । हालसम्म ८७ को पोस्टमार्टम भएको छ अझै १५ पोस्टमार्टन हुन बाँकी छ ।

भोटेकोशी बाढीमा बगेका व्यक्तिका शव आफन्तले कपडा, ट्याटु, गहना तथा शरीरमा रहेका अन्य चिनारीका आधारमा पहिचान गरिरहेका छन्।

नुवाकोटका राजकुमार तामाङले ५ वर्षीय छोरा प्रिन्सलाई विद्यालयको ड्रेसमा लगाएको टाई र माला हेरेर पहिचान गरे। नारायणी किनारमा भेटिएको उनको शवको तस्बिर प्रहरीले वेबसाइटमा सार्वजनिक गरेपछि राजकुमारले पोखरा पुगेर शव बुझेका हुन्। भक्तपुरका सत्यकृष्ण पराजुलीले भने दाजु सत्यसुन्दर प्रजापतिको शव घाँटीमा रहेको ट्याटुबाट पहिचान गरेका छन्।

भोटेकोशी बाढीपछि विभिन्न जिल्लाबाट संकलन गरिएका १०२ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएका छन्। तीमध्ये ४६ शवको पोस्टमार्टम भइसकेको छ भने १५ जनाको पहिचानपछि आफन्तले बुझेर लगेका छन्।

धेरै शव सग्लो नरहेकाले पहिचानमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। एउटै शवमा तीन परिवारले दाबी गरेपछि विवादसमेत भएको छ। उक्त शवको पहिचानका लागि डीएनए नमुना परीक्षणका लागि पठाइएको छ।

प्रहरीका अनुसार हालसम्म ६ जनाको डीएनए नमुना संकलन गरिएको छ। फिंगरप्रिन्ट र बायोमेट्रिक माध्यमबाट समेत पहिचानको प्रयास भइरहेको छ। तर शव क्षतिग्रस्त भएकाले यो विधि अधिकांशमा सम्भव देखिएको छैन।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीका अनुसार पहिचान भएका शव आफन्तलाई बुझाइनेछ भने पहिचान हुन नसकेका शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ। डीएनए परीक्षणबाट पहिचान खुलेपछि सम्बन्धित आफन्तलाई शव हस्तान्तरण गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया