पोखरा , १५ भदौ २०८३।
रसुवामा आएको भोटेकोसी बाढीबाट भएको जनधनको क्षतिप्रति चीनले गहिरो दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपाल र नेपाली जनताको साथमा रहेको जनाएको छ।
प्रधानमन्त्री राहत कोषमा चीन सरकारका तर्फबाट घोषणा गरिएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङको सन्देश सुनाउँदै नेपाललाई विपत्तिमा एक्लै नछाड्ने बताएका हुन्।
राजदूत माओमिङका अनुसार राष्ट्रपति सी र प्रधानमन्त्री लीले बाढीमा ज्यान गुमाएका नेपाली नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनीहरूले प्रभावित परिवार तथा नेपाल सरकारप्रति समेत समवेदना व्यक्त गरेका छन्।
‘यो दुःखमा नेपाल एक्लै छैन। चीन नेपाल र नेपाली जनताको साथमा छ,’ चिनियाँ नेतृत्वको सन्देश सुनाउँदै राजदूत माओमिङले भने।
चीनले विपद्पछिको उद्धार तथा राहतका लागि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ। सोही क्रममा राजदूत माओमिङले चीन सरकारका तर्फबाट करिब ३० करोड ६० लाख रुपैयाँ अर्थात् २० लाख अमेरिकी डलर बराबरको सहयोग रकम अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरेका छन्।
यसैगरी, चिनियाँ रेडक्रसले उपलब्ध गराएको करिब ३ करोड ६ लाख रुपैयाँ अर्थात् २ लाख अमेरिकी डलर बराबरको नगद सहयोग पनि हस्तान्तरण गरिएको छ।
राहत सहयोग हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विपत्तिको सामना नेपाल र चीनले मिलेर गर्ने बताए। नेपालका लागि चीनले घोषणा गरेका अन्य राहत तथा उद्धार सामग्रीसमेत नेपाल भित्रिन सुरु भइसकेको उनले जानकारी दिए।
उनका अनुसार आइतबार दुईवटा चिनियाँ जहाजमार्फत ५० टन राहत सामग्री काठमाडौं ल्याइएको छ। ती जहाजमा टेन्ट, ब्ल्यांकेट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटलगायत सामग्री रहेको बताइएको छ। थप राहत सामग्री पनि निरन्तर पठाइने चीनको भनाइ छ।
रसुवाको बाढीका कारण चीनतर्फ रोकिएका नेपाली नागरिकलाई मुस्ताङको कोरला नाका हुँदै स्वदेश फर्काउन आवश्यक पहल भइरहेको जानकारी पनि राजदूत माओमिङले अर्थमन्त्री वाग्लेलाई गराएका छन्।
यसैगरी, जलविद्युत् कम्पनीको सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि चिनियाँ हेलिकप्टरसहित दक्ष जनशक्ति शनिबार नै नेपाल आइपुगेको उनले बताए। थप दक्ष उद्धार प्राविधिकसमेत सोमबार नेपाल आइपुगेको जानकारी राजदूतले दिएका छन्।
नेपाल सरकारले उद्धार तथा राहतका लागि माग गरेको ठूलो परिमाणमा सामग्री बोक्न सक्ने ड्रोन नेपाल ल्याउन चीनले तीव्र गतिमा काम गरिरहेको पनि राजदूत माओमिङले जानकारी दिएका छन्।