कोलम्बियामा लगातारको वर्षासँगै आएको बाढी तथा पहिरोमा परि दुई सय भन्दा धेरैको ज्यान गएपछि राष्ट्रिय आपतकालिन अवस्थाको घोषणा गरिएको छ । मोकोएमा गएको पहिरोमा परि ज्यान गुमाएका पहिलो व्यक्तिको अन्तिम संस्कार गरेलगतै राष्ट्रपति आन म्यानुएल सान्तोसले देशमा आर्थिक, समाजिक तथा पर्यावरणीय आपतकालको घोषणा गर्नुभएको हो ।
नेपाली समय अनुसार शनिबार बेलुका गएको पहिरोमा परि दुई सय ६२ जनाको ज्यान गएको पुष्टि भएको छ । उनीहरुको सबैको सामूहिक श्रद्धान्जली सभा पनि गरिएको छ । पहिरोमा परि हराएको खोजी तथा राहतको काम अहिले पनि भइरहेको छ ।
चार सय भन्दा बढी मानिस घाइते भएको घटनामा दुई सय भन्दा धेरै अझै हराइरहेका छन् । घटनाको ७२ घण्टा बितिसकेकाले हराएको जीवितै उद्धार गर्ने सम्भावना टरेको रेड क्रसले जनाएको छ । कोलम्बिया सरकारले पहिरो प्रभावितको सहयोगका लागि एक करोड ३९ लाख अमेरिकी डलर खर्च गर्ने घोषणा गरेको छ ।