सरकारले स्याङजाको स्वरेकमा प्याराग्लाईडिङ स्कुल खोल्न अनुमति दिएको छ । दक्ष र समक्ष पाइलट उत्पादनमा सघाउने गरी पोखराको बाबु एड्भेन्चरलाई प्याराग्लाईडिङ स्कुल सञ्चालनको अनुमति प्राप्त भएको हो । बाबु एड्भेन्चरले स्वरेकमा प्याराग्लाईडिङको ब्यबशायिक उडान गरिरहेको छ । पोखराबाट प्रकाशित समाधान दैनिकका अनुसार सो कम्पनीले प्याराग्लाईडिङ स्कुल खोल्न गत मंगलवार स्विकृति पाएको हो । एड्भेन्चरका सञ्चालक सानुबाबु सुनुवारले प्याराग्लाईडिङ पाइलट उत्पादन गर्ने गरी पहिलो पटक स्कुल खोल्न अनुमति पाएको बताए ।
यसअघि प्रशिक्षणको भरमा मात्रै पाइलट उत्पादन हुने भएकाले आधिकारिकतामा समस्या आउने गरेको भएपनि अब सरकारी निगरानीमा प्रशिक्षण दिदा आधिकारिकताको प्रश्न नउठ्ने उनले बताए । स्याङजाको स्वरेक १ मा प्रशिक्षण स्थल राखेर पाइलटलाई तालिम दिने सुनुवारले बताए ।
स्कुल खोल्न अनुमति दिएको पर्यटन मन्त्रालय अन्तर्गत हवाइ उड्डयन महाशाखाका सहसचिब बुद्धिसागर लामिछानेका अनुसार मन्त्रालय र प्राधिकरणले स्कुलमा पढाइने पाठ्यक्रमको डिजाईन गरिरहेको छ । पाठ्यक्रम स्विकृत भएपछि प्रशिक्षणको मापदण्ड बनाएर प्राधिकरणकै प्रत्यक्ष निगरानीमा पाइलट उत्पादनको प्रशिक्षण दिइने लामिछानेले बताए । कतिपय विदेशी पाइलटले नेपालमा उडान सिक्न चाहने भएकाले यँहा खुलेको स्कुलले ती विदेशीलाई पनि नेपाल तान्न सक्ने विश्वास लिइएको छ ।