बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध पक्राउ पुर्जी जारी : डिसेम्बर १ मा अदालतमा उपस्थित गराइने

बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध पक्राउ पुर्जी जारी : डिसेम्बर १ मा अदालतमा उपस्थित गराइने


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ कार्तिक २०८३
  • 0
    Shares

काठमाण्डौ, २ कार्तिक २०८३ ।

बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको उत्तर प्रदेशस्थित झाँसी अदालतले गैरजमानती वारेन्ट (एनबीडब्ल्यू) जारी गरेको छ। करिब १६ वर्षअघि टेलिभिजन शोमा एक व्यक्तिलाई अपमानित गरेको र त्यसपछि ती व्यक्तिले आत्महत्या गरेको घटनासम्बन्धी मुद्दामा अदालतले यस्तो आदेश दिएको हो।

सिभिल जज जुडिसियल (फास्ट ट्र्याक कोर्ट, सीएडब्ल्यू) अञ्जलीको अदालतले राखी सावन्त र उनको टोलीलाई पक्राउ गरी सन् २०२६ डिसेम्बर १ मा अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको समाचारमा उल्लेख छ। उनीहरू अदालतमा निरन्तर अनुपस्थित भएपछि अक्टोबर १६ मा वारेन्ट जारी गरिएको बताइएको छ।

मुद्दा सन् २०१० मा प्रसारण भएको ‘राखी का इन्साफ’ नामक टेलिभिजन कार्यक्रमसँग सम्बन्धित छ। उक्त कार्यक्रममा झाँसीको प्रेमनगर क्षेत्रका २४ वर्षीय लक्ष्मणप्रसाद अहिरवारलाई उनकी पत्नी र परिवारका सदस्यकै अगाडि अपमानजनक शब्द प्रयोग गरिएको आरोप छ।

कार्यक्रममा राखीले लक्ष्मणप्रसादलाई ‘नामर्द’ र ‘नपुंसक’ भन्दै अपमान गरेको आरोप लगाइएको छ। उक्त घटनापछि केही दिनमै लक्ष्मणप्रसादले आत्महत्या गरेको समाचारमा उल्लेख छ।

घटनापछि मृतककी आमाको उजुरीका आधारमा प्रेमनगर प्रहरीले राखी सावन्त र उनको टोलीविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो। प्रहरीले अदालतमा आरोपपत्र पेस गरेपछि मुद्दाको सुनुवाइ हुँदै आएको थियो।

गैरजमानती वारेन्ट जारी भएपछि प्रतिक्रिया दिँदै राखी सावन्तले आफू कार्यक्रमकी सञ्चालक मात्र भएको र टेलिभिजन च्यानलले जे भन्न लगाउँथ्यो, त्यही बोलेको दाबी गरेकी छन्। जेल जानुपर्ने अवस्था आए पनि आफू तयार रहेको उनको भनाइ छ।

यस मुद्दाको आगामी सुनुवाइ सन् २०२६ डिसेम्बर १ मा हुने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार