पोखरामा भारतीय महिन्द्रा गाडीले स्कुटरलाई ठक्कर दिंदै बिजुलीको पोलमा ठोक्कियो : तीन जना भारतीय सहित चार जना घाइते

पोखरामा भारतीय महिन्द्रा गाडीले स्कुटरलाई ठक्कर दिंदै बिजुलीको पोलमा ठोक्कियो : तीन जना भारतीय सहित चार जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ असोज २०८३
  • 247
    Shares

पोखरा, २८ असोज २०८३ ।

पोखरामा भारतीय नम्बर प्लेटको गाडीले स्कुटरलाई ठक्कर दिंदा तीन जना भारतीय सहित चार जना घाइते भएका छन्।

पोखराबाट हेम्जातर्फ जाँदै गरेको (२६ BH 4737P) नम्बरको भारतीय नम्बर प्लेटको महिन्द्रा गाडी बुधबार दिउँसो करिब १२ः३० बजे पोखरा महानगरपालिका–२५ याम्दीस्थित भोटेक्याम्पमा अनियन्त्रित भई सडक छेउमा पार्किङ गरेर राखिएको गण्डकी प्रदेशको ग २४ प २९३६ नम्बरको स्कुटरलाई ठक्कर दिँदै बिजुलीको पोलमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो।

प्रहरीका अनुसार , उक्त दुर्घटनामा गाडीमा सवार भारतको महाराष्ट्र निवासी ५५ वर्षीया दर्शना आनन्द, २७ वर्षीया सुईनी र गाडी चालक ४० वर्षीय मिलेश चौधरी तथा स्कुटरका चालक पोखरा महानगरपालिका–२५ हेम्जाका १९ वर्षीय अमन क्षेत्री पनि घाइते भएका छन्। उनीहरु सबैलाई उपचारका लागि पोखराको फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार , अस्पतालमा उपचाररत दर्शना आनन्द र गाडी चालक मिलेश चौधरीलाई बाहिरी चोटपटक नदेखिएको भए पनि सुईनी आनन्दको निधारमा सामान्य चोट लागेको छ। त्यस्तै सोही दुर्घटनामा घाइते भएका स्कुटर चालक अमन क्षेत्रीको सोही अस्पतालमा उपचार भैरहेको बताइए पनि उनको अवस्था भने खुलाइएको छैन।

दुर्घटनापछि घटनास्थलमा वडा प्रहरी कार्यालय बगरबाट प्रहरी नायब निरीक्षक इन्द्रमणि शर्माको कमाण्डमा पाँच जनाको टोली खटिएको थियो। दुर्घटनामा दुवै सवारीसाधन र बिजुलीको पोलमा क्षति पुगेको छ। दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको र स्कुटरलाई वडा प्रहरी कार्यालय बगरमा ल्याएर राखिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

दुर्घटनामा गाडीमा सवार भारतको महाराष्ट्र निवासी २७ वर्षीया सुईनी आनन्दको निधारमा सामान्य चोट लागेको छ। सोही गाडीमा सवार ५५ वर्षीया दर्शना आनन्द र चालक ४० वर्षीय मिलेश चौधरीलाई भने कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ। स्कुटर चालक पोखरा–२५ हेम्जाका १९ वर्षीय अमन क्षेत्रीको चोटको अवस्था भने प्रहरीले खुलाएको छैन। दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार