पद्म नर्सिङ होम घुस प्रकरण : एमालेको छानबिन समितिले देखायो यस्ता गल्ती कमजोरी, गर्यो कारवाही सिफारिश

पद्म नर्सिङ होम घुस प्रकरण : एमालेको छानबिन समितिले देखायो यस्ता गल्ती कमजोरी, गर्यो कारवाही सिफारिश


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ असोज २०८३
  • 513
    Shares

पोखरा, २८ असोज २०८३।

पोखरा-३ नदीपुरस्थित पद्म नर्सिङ होमको स्तरोन्नति नवीकरणमा ३० लाख घुस मागेको प्रकरणमा नेकपा एमालेले गठन गरेको छानबिन समितिले प्रतिवेदन तयार पारेको छ।

गण्डकी प्रदेश संसदीय दलले प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठन गरेको समितिले एक साताअघि नै प्रतिवेदन तयार पारे पनि दलका नेता खगराज अधिकारी काठमाडौंमा व्यस्त भएकाले बुझाउन बाँकी रहेको हो।

गत असोज ३ गते १०० शय्यामा स्तरोन्नतिको नवीकरण गरिदिने भन्दै तत्कालीन स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे, उनका स्वकीय सचिव यादव पौडेल र मन्त्रालयका सचिव युवानिधि बसौलाले ३० लाख घुस मागेको अडियो-भिडियो सार्वजनिक भएको थियो।

स्रोतका अनुसार प्रतिवेदनले मन्त्री पाण्डे प्रत्यक्ष मोलमोलाइमा नदेखिए पनि घुस लेनदेन थाहा पाउँदा पाउँदै रोक्ने प्रयास नगरेको र प्रश्रय दिएको निष्कर्ष निकालेको छ। अडियो-भिडियो सार्वजनिक भएपछि सञ्चारकर्मीसँगको अन्तर्वार्तामा आफ्नो संलग्नता स्वीकारेको विषय समेत प्रतिवेदनमा उल्लेख छ। समितिले पार्टीको आचरणविपरीत कार्य भएकाले कारबाहीको सिफारिस गरेको सदस्य धनञ्जय दवाडीले बताए।

संयोजक पहारीले प्रतिवेदन समयमै तयार भएको र एक-दुई दिनभित्रै बुझाउने बताइन्।

यसैबीच, प्रदेश सरकारले गठन गरेको अर्को छानबिन समितिले पनि प्रतिवेदनलाई अन्तिम रूप दिँदै छ। मुख्यमन्त्री कार्यालयकी उपसचिव पार्वती लामिछाने संयोजक रहेको समितिले सबै अस्पतालको स्तरोन्नतिको फाइल जाँचिरहेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता तीर्थराज चिलुवालका अनुसार मौखिक रूपमा म्याद थप गरेर प्रतिवेदन लेखन भइरहेको छ।

५० बाट १०० शय्यामा स्तरोन्नति भएको अस्पतालले एक वर्षअघि नै परीक्षणकालको अनुमति पाए पनि कागजात नपुगेको भन्दै ६-७ महिना फाइल रोकेर घुस मागिएको खुलेको थियो। प्रकरणपछि सचिव बसौलालाई मुख्यमन्त्री कार्यालयमा तानिएको छ।

घुस प्रकरणमा मुछिएका पाण्डे नवलपुर-२ (२) बाट निर्वाचित एमाले सांसद हुन्। उनी २०८३ वैशाख २ देखि ४ महिना ११ दिन स्वास्थ्यमन्त्री भएर भदौ १० मा राजीनामा दिएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार