:काठमाण्डौ, २४ असोज २०८३।
साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र साउदी एयरलाइन्सको विमानलाई लक्षित गरी भएको आक्रमणमा विमानका कप्तानसहित तीन जनाको मृत्यु भएको छ। बिहीबार भएको उक्त आक्रमणमा विभिन्न देशका नागरिक घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
शुक्रबार जारी हवाई सेवासम्बन्धी वक्तव्यअनुसार आक्रमणमा घाइते भएकाहरूको अवस्था सामान्यदेखि गम्भीरसम्म रहेको छ। यमनमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध साउदी अरब र उसका सहयोगी सेनाले ठूलो सैन्य कारबाही शुरु गरेयता साउदी अरबमा भएको यो सबैभन्दा घातक आक्रमण भएको बताइएको छ।
साउदी अधिकारीहरूका अनुसार आक्रमणकारीले शुरुमा विमानस्थलका संरचनालाई निशाना बनाएका थिए। त्यसपछि साउदी एयरलाइन्सको विमानमाथि अर्को आक्रमण भएको थियो। घटनामा संलग्न व्यक्तिको पहिचान सार्वजनिक गरिएको छैन। यद्यपि, हुथी विद्रोहीहरूले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेर विमानस्थललाई निशाना बनाएको दाबी गरेका छन्।
विमानका कप्तानको पनि मृत्यु
आक्रमणमा मृत्यु हुनेमध्ये साउदी एयरलाइन्सका कप्तान हमुद अली अलकलथामी पनि रहेको साउदी समूहले विज्ञप्तिमार्फत जनाएको छ। पछिल्लो सैन्य कारबाही सुरु भएयता साउदी राष्ट्रिय ध्वजावाहकको विमानमाथि भएको यो पहिलो पुष्टि भएको आक्रमण भएको बताइएको छ।
साउदी समूहका अनुसार आक्रमणका बेला विमान जमिनमा रहेको थियो। आक्रमणबाट विमानमा क्षति पुगे पनि त्यसमा कुनै यात्रु सवार थिएनन्। विमानमा यात्रु नरहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको देखिन्छ।
रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल पछिल्ला दिनमा पटकपटक आक्रमणको निशाना बन्दै आएको छ। यसै साताको सुरुमा भएको अर्को आक्रमणमा एक सुडानी नागरिकको मृत्यु भएको थियो।
विमानस्थल पुन: सञ्चालन
आक्रमण भएको केही घण्टापछि बिहीबार साँझ ६ बजेदेखि विमानस्थलको सञ्चालन सामान्य अवस्थामा फर्किएको साउदी समूहले जनाएको छ। आक्रमणबाट विमानस्थलका संरचना तथा विमानमा क्षति पुगे पनि सेवा पुनः सञ्चालनमा ल्याइएको हो।
यसैबीच, हुथी विद्रोहीविरुद्ध सैन्य कारबाही गरिरहेको साउदी नेतृत्वको गठबन्धनले क्षेत्रीय सुरक्षामा खतरा उत्पन्न गर्न प्रयोग भइरहेका विद्रोहीका तीनवटा रकेट प्रक्षेपण मञ्च नष्ट गरेको जनाएको छ।
यमनमा जारी सैन्य संघर्ष र त्यसको प्रभाव साउदी अरबसम्म विस्तार भइरहेका बेला भएका पछिल्ला आक्रमणले क्षेत्रीय सुरक्षा अवस्था थप तनावपूर्ण बनाएको छ। विमानस्थल र नागरिक हवाई सेवासँग सम्बन्धित संरचनालाई निशाना बनाइँदा क्षेत्रीय हवाई यातायात तथा सर्वसाधारणको सुरक्षामा समेत जोखिम बढ्ने चिन्ता देखिएको छ।
आक्रमणको जिम्मेवारी, क्षतिको पूर्ण विवरण र घटनामा संलग्न पक्षबारे थप आधिकारिक जानकारी आउन बाँकी छ।