पोखरा, २८ असोज २०८३।
धारिलो हतियार प्रहारबाट मुगुमा ७५ वर्षीय वृद्धको मृत्यु भएको छ।
मुगुको छायानाथ रारा नगरपालिका-५ मा ७५ वर्षीय धनवीर कामीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको हो।
स्थानीय ३२ वर्षीय अजविर कामीले उनलाई धारिलो हतियार खुँडा प्रहार गरी गम्भीर घाइते बनाएकोमा तत्काल उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए।
उक्त घटनापछि भाग्दै गर्दा अजविर कामीलाई रारा राष्ट्रिय निकुञ्जको जंगलबाट पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ।
घटनाको कारणबारे अनुसन्धान भइरहेको र मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा राखिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।