पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थीसहित पाँच जनाको मृत्यु, घाइतेको नामावली सार्वजनिक

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थीसहित पाँच जनाको मृत्यु, घाइतेको नामावली सार्वजनिक


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ असोज २०८३
  • 19
    Shares

पोखरा, २३ असोज २०८३ ।

पोखरामा आज बिहानै स्कुल बस पल्टिंदा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन्।

पोखरा महानगरपालिका–२८ को सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका इङ्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस शुक्रबार बिहान करिब ६ः३३ बजे कालिकाको ओख्लेकोभिरबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको हो भने अन्य १४ जना घाइते भएका छन्।

उक्त दुर्घटनामा परेर करिब १२/१३ वर्षीया ममता तिवारी, करिब १३/१४ वर्षीय अशिम कँडेल, पहिचान खुल्न बाँकी दुई बालिका र पोखरा महानगरपालिका–२८ निवासी ६५ वर्षीय बाबुराम तिवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। बाबुराम उपचारका लागि जान बसमा लिफ्ट मागेर चढेका स्थानीय भएको बताइएको छ।

ममता तिवारी, अशिम कँडेल र बाबुराम तिवारीलाई बिहान ८ः३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। अन्य दुई बालिकाको पनि उपचारका क्रममा मृत्यु भएको हो। उनीहरूको नामथर र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

सोही दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको गण्डकी मेडिकल कलेज (जिएमसी) र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको विवरण सार्वजनिक भएको छ।

गण्डकी मेडिकल कलेजमा उपचाररत

१. सृष्टि तिवारी, १६ वर्ष — पोखरा–२८, सौर्य निवासी, कक्षा १० की विद्यार्थी। अवस्था मध्यम।

२. शिसन थापा मगर, १६ वर्ष — पोखरा–२८, सौर्य निवासी, कक्षा १० का विद्यार्थी। अवस्था मध्यम।

३. सौगात तिमिल्सिना, १६ वर्ष — पोखरा–२८, डाँडागाउँ निवासी, कक्षा १० का विद्यार्थी। अवस्था मध्यम।

गण्डकी अस्पतालमा उपचाररत

१. अस्मी कँडेल, १५ वर्ष — टाउको र ढाडमा चोट, अवस्था गम्भीर।

२. स्नेहा गौतम, १४ वर्ष — टाउकोमा चोट, अवस्था मध्यम।

३. सोनिया तिवारी, १३ वर्ष — टाउकोमा चोट, अवस्था मध्यम।

४. अंकित पराजुली, १३ वर्ष — टाउकोमा चोट, अवस्था मध्यम।

५. स्मृति खत्री, १५ वर्ष — मादी गाउँपालिका–१२ निवासी, टाउकोमा चोट।

६. स्नेहा तिवारी, १६ वर्ष — मादी गाउँपालिका–१२ निवासी, टाउकोमा चोट।

७. आकृति बुढाथोकी, १४ वर्ष — मादी गाउँपालिका–१२ निवासी, टाउकोमा चोट।

८. मेरिना तिवारी, १५ वर्ष — मादी गाउँपालिका–१२ निवासी, टाउकोमा चोट।

९. सुप्रिया आचार्य, १४ वर्ष — टाउकोमा चोट।

१०. यमन मगर, १६ वर्ष — मादी गाउँपालिका–१२ निवासी, टाउकोमा चोट।

११. तुलबहादुर गुरुङ, ५७ वर्ष — पोखरा–१५ निवासी बस चालक, ढाड र छातीमा चोट।

उपलब्ध विवरणअनुसार अधिकांश घाइतेको अवस्था मध्यम रहेको छ भने अस्मी कँडेलको अवस्था गम्भीर रहेको छ।

उद्धारमा खटिएका प्रहरी पनि घाइते

दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी निरीक्षक सन्तोष पौडेलको कमान्डमा सात जना, जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानको कमान्डमा ट्राफिकसहित १५ जना र सशस्त्र प्रहरी बल नेपाल नं. २४ हेक्वा कालिका गण पोखराबाट सशस्त्र प्रहरी निरीक्षक बलराम गौतमको कमान्डमा १० जनाको टोली उद्धारका लागि घटनास्थल पुगेको थियो।

थप उद्धारका लागि बिहान ७ः४० बजे प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीको कमान्डमा थप टोलीसमेत परिचालन गरिएको थियो।

उद्धार कार्यमा खटिएका इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाही पनि सामान्य घाइते भएका छन्। उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको छ।

बसमा विद्यार्थी, चालक तथा अन्य यात्रुसमेत सवार रहेको प्रहरी विवरणमा उल्लेख छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार