श्रीमान् विदेशबाट फर्किएको भोलिपल्टदेखि बेपत्ता आमा-छोरा तामाकोशी किनारमा मृत भेटिए

श्रीमान् विदेशबाट फर्किएको भोलिपल्टदेखि बेपत्ता आमा-छोरा तामाकोशी किनारमा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ असोज २०८३
  • 247
    Shares

श्रीमान् लामो समयपछि विदेशबाट फर्किएको भोलिपल्टदेखि सम्पर्कविहीन भएका दोलखाका आमा-छोरा मंगलबार बिहान तामाकोशी किनारमा मृत अवस्थामा भेटिएका छन्।

दोलखाको मेलुङ गाउँपालिका-१ पवटी घर भएकी अन्दाजी ३० वर्षीया आश्मा बस्नेत खड्का र उनका करिब १० वर्षीय छोरा आदित्य खड्का मंगलबार बिहान तामाकोशी किनारमा मृत अवस्थामा भेटिएका हुन् ।

स्थानीयका अनुसार आश्माका श्रीमान् दिनेश खड्का लामो समयदेखि वैदेशिक रोजगारीमा थिए। उनी असोज २२ गते मात्र स्वदेश फर्किएका थिए। सोही दिन उनीहरू सँगै होटलमा बसेको र असोज २३ गते बिहानदेखि आश्मा छोरासहित सम्पर्कविहीन भएको बताइएको छ।

सम्पर्कविहीन भएका आमा-छोराको खोजी भइरहेका बेला मंगलबार बिहान तामाकोशी नदी किनारमा दुवै जनाको शव फेला परेको प्राप्त समाचारमा जनाइएको छ ।

उनीहरुको शव तामाकोशी नदी किनारमा रुखमा अड्किएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरीक्षक विवेक घिमिरेले जानकारी दिए।

यद्यपि, जिल्ला प्रहरी कार्यालय दोलखाले परिवारका सदस्यबाट शवको औपचारिक सनाखत हुन बाँकी रहेको जनाएको छ। घटनाको प्रकृति र मृत्युको कारणबारे अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

श्रीमान् विदेशवाट फर्किए लगत्तै आश्मा छोरासहित वेपत्ता हुनु र दुवै जना मृत फेला पर्नुले घटना शंकास्पद देखिएको स्थानीय बासिन्दाहरु बताउछन ।

प्रतिक्रिया
सम्बन्धित समाचार