मलेसियामा दुई नेपाली महिलाको शंकास्पद मृत्यु, दुई जना पक्राउ

मलेसियामा दुई नेपाली महिलाको शंकास्पद मृत्यु, दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ असोज २०८३
  • 551
    Shares

काठमाडौं, २८ असोज २०८३।

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका दुई नेपाली महिला कामदार शंकास्पद अवस्थामा मृत फेला परेका छन्। मृत्यु हुनेमा नुवाकोटको शिवपुरी गाउँपालिका–३ की साङ्गेला मेन्दो तामाङ र सिन्धुपाल्चोककी सन्ध्या तामाङ रहेका छन्।

प्राप्त विवरण अनुसार उनीहरू दुवै मलेसियाको पेनाङ राज्यमा कार्यरत थिए। घरबाट पठाइएको सामान लिन जाने भन्दै उनीहरू बिहीबार रातिको ड्युटी सकेर शुक्रबार सार्वजनिक बसमार्फत राजधानी क्वालालम्पुर पुगेका थिए र त्यहाँको एक होटलमा बसेका थिए।

शनिबार बिहान सन्ध्याको मृत्यु भइसकेको जानकारी दिँदै साङ्गेलाले कम्पनीमा कार्यरत अन्य नेपाली सहकर्मीहरूलाई सन्देश पठाएकी थिइन्। आफू अस्पतालमा रहेको बताउँदै उनले उपचार खर्चका लागि भन्दै रकम समेत माग गरेकी थिइन्। तर कुन अस्पतालमा रहेको भन्ने स्पष्ट जानकारी नदिएको र भिडियो कल गर्दा सम्पर्क हुन नसकेपछि सहकर्मीहरूलाई शंका लागेको थियो। पटक-पटक रकम मागिएपछि साथीहरूले पैसा नपठाई कम्पनीलाई खबर गरेका थिए।

कम्पनीलाई जानकारी गराएपछि गरिएको खोजीका क्रममा दुवै जनाको मृत्यु भइसकेको पुष्टि भएको हो। सन्ध्याको शवको तस्बिर देखाएर रकम मागिएको भए पनि त्यसअघि नै साङ्गेलाको समेत मृत्यु भइसकेको हुनसक्ने मृतकका आफन्तले आशंका गरेका छन्। मृत्यु भइसकेको अवस्थामा पनि उनीहरूको सामाजिक सञ्जाल चलिरहेको देखिएकाले घटना थप रहस्यमय बनेको छ। आफन्तहरूले यस घटनामा नेपाली नागरिककै संलग्नता हुनसक्ने आशंका व्यक्त गरेका छन्।

यसैबीच, मलेसियाली प्रहरीले अनुसन्धानलाई तीव्र बनाउँदै एक जना नेपाली नागरिक र एक स्थानीय मलेसियाली नागरिकलाई नियन्त्रणमा लिएको छ। उनीहरूसँग सोधपुछ तथा थप अनुसन्धान भइरहेको जनाइएको छ।

मृत्युको यकिन कारण, घटनाको परिस्थिति र रकम असुल्न प्रयोग गरिएको सामाजिक सञ्जालबारे विस्तृत विवरण आउन बाँकी रहेको र पूर्ण अनुसन्धान प्रतिवेदन नआएसम्म घटनाबारे निष्कर्षमा पुग्न नसकिने नेपाली दूतावास स्रोतले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार