वैकल्पिक आवासको टुंगो नलाग्दै होल्डिङ सेन्टर खाली गर्न स्थानीय प्रशासनले गर्यो माइकिङ: विस्थापित परिवार आक्रोशित

वैकल्पिक आवासको टुंगो नलाग्दै होल्डिङ सेन्टर खाली गर्न स्थानीय प्रशासनले गर्यो माइकिङ: विस्थापित परिवार आक्रोशित


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ मंसिर २०८३
  • 95
    Shares

भक्तपुर, ११ मंसीर २०८३ ।

भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसेका विस्थापित परिवारलाई शुक्रबार दिउँसो २ बजेभित्र सेन्टर खाली गर्न प्रहरीले माइकिङ गरेको छ । बिहीबार साँझ सेन्टरमा पुगेर प्रहरीले यस्तो सूचना सुनाएको विस्थापितले बताएका छन् ।

यसअघि बुधबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले ‘होल्डिङ सेन्टर खाली गर्ने सम्बन्धी सूचना’ जारी गरेको थियो । भूमि समस्या समाधान समितिले मंसिर ९ गते पठाएको पत्रका आधारमा जारी सूचनामा मंसिर ११ दिउँसो २ बजेभित्र सेन्टर खाली गर्न भनिएको छ । 

सूचना जारी भएपछि बोडे, खरिपाटी र इचंगुनारायणका विस्थापितले बिहीबार (मंसिर १०) प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा उनीहरूले सूचना तत्काल फिर्ता लिन र वैकल्पिक आवास तथा उचित व्यवस्थापन सुनिश्चित नभएसम्म कुनै पनि परिवारलाई जबरजस्ती नहटाउन माग गरेका छन् । ‘सरकारले आफ्नो पूर्वप्रतिबद्धता पूरा गर्नुको सट्टा फेरि सेन्टर खाली गर्न निर्देशन दिनु हामी पीडित नागरिकमाथि अर्को अन्याय र निष्कासनको जोखिम थपेर अमानवीय कार्य हो,’ ज्ञापनपत्रमा भनिएको छ ।

वैकल्पिक आवासको व्यवस्था नगरी भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टर खाली गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरलगायतका निकायले सूचना टाँसेपछि विस्थापित परिवारले तीव्र असन्तुष्टि जनाएका छन्। आगामी मंसिर ११ गते शुक्रबार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न दिइएको निर्देशनले आफूहरू पुनः सडकमा पुग्ने जोखिम बढेको भन्दै पीडित परिवारले निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

काठमाडौं उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्तीबाट विस्थापित भई बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका १९ परिवारका ५९ जनालाई प्रशासनले निर्धारित समयभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको हो। बुधबार जिल्ला प्रशासन कार्यालयको टोलीले सेन्टरमै पुगेर सूचना टाँसेपछि विस्थापित परिवारमा अन्योल र त्रास बढेको छ।

प्रशासनको सूचनाप्रति आपत्ति जनाउँदै विस्थापित परिवारले बिहीबार प्रमुख जिल्ला अधिकारीसमक्ष छबुँदे ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले वैकल्पिक आवासको सुनिश्चितता नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गरेका छन्।

विस्थापित परिवारका अनुसार गत वैशाख १२ गते थापाथलीलगायतका नदी किनारका बस्तीमा डोजर चलाउँदा सरकारले १५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको थियो। तर आठ महिना बितिसक्दा पनि आवासको टुंगो नलागेको उनीहरूको गुनासो छ।

होल्डिङ सेन्टरमा बस्दै आएकी विस्थापित गिर्वाणिका थापाले आफूहरूलाई फेरि कहाँ जाने र कसरी गुजारा चलाउने भन्ने चिन्ताले सताएको बताइन्। प्रशासनको टोलीसँग छलफल गरे पनि समस्याको समाधान नभएको उनको भनाइ छ।

‘केही समय छलफल पनि गर्‍यौं, तर हामीले सकेनौं। अब निस्किएर जाऊ भन्छन्, कहाँ जाने, के खाने केही टुंगो छैन,’ थापाले भनिन्।

प्रशासनले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र सम्बन्धित स्थानीय तहबाट प्राप्त विवरणका आधारमा होल्डिङ सेन्टरमा रहेका १९ परिवारमध्ये सात परिवारका घरमूली वा परिवारका सदस्यको नाममा जग्गा रहेको जनाएको छ। भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२क र ५२ख अनुसार ती परिवार भूमिहीनको सूचीमा नपर्ने प्रशासनको भनाइ छ।

त्यस्तै, बाँकी १२ परिवारको नाममा जग्गा नदेखिएकाले सम्बन्धित स्थानीय तहबाट जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको र त्यसको निस्सासमेत प्राप्त भएको प्रशासनले जनाएको छ। ती परिवारलाई निस्सा बुझ्न र सरकारले तोकेको घरभाडाबापतको सुविधा लिन आग्रह गरिएको छ।

तर विस्थापित परिवारले अभिलेखमा नाम देखिएकै आधारमा कसैलाई भूमिहीन नठहर्‍याउने निर्णयप्रति असहमति जनाएका छन्। परिवारका सदस्यको नाममा कुनै स्थानमा जग्गा देखिँदैमा त्यसले वास्तविक आवासीय र आर्थिक अवस्था प्रतिनिधित्व नगर्ने उनीहरूको तर्क छ।

उनीहरूले प्रत्येक परिवारको वास्तविक जग्गा, आवासीय अवस्था, आर्थिक अवस्था र भूमिहीन हुनुका कारणबारे स्थलगत छानबिन गर्नुपर्ने माग गरेका छन्। साथै, वैकल्पिक आवासको व्यवस्था, भत्काइएका घरटहराको क्षतिपूर्ति तथा बस्ती हटाउने क्रममा भएका मानवीय घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने मागसमेत ज्ञापनपत्रमा समेटिएको छ।

विस्थापित परिवारले सरकारले पहिले गरेको पुनःस्थापनाको प्रतिबद्धता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार अस्थायी आश्रयस्थल खाली गराउने निर्णयले समस्या समाधान गर्नुको सट्टा विस्थापनको पीडा थप गहिरो बनाउनेछ।

बिहीबार साँझ प्रहरीले समेत होल्डिङ सेन्टर पुगेर शुक्रबार दिउँसो २ बजेसम्म स्थान खाली गर्न माइकिङ गरेको विस्थापित परिवारले बताएका छन्। यसले परिवारमा थप तनाव र अनिश्चितता सिर्जना गरेको छ।

हाल बोडेमा रहेका १९ परिवारमध्ये १७ जना बालबालिका छन्। बालबालिकाको शिक्षा, स्वास्थ्य र दैनिक जीवनसमेत प्रभावित भइरहेको अवस्थामा वैकल्पिक आवासको व्यवस्था नगरी सेन्टर खाली गराउने निर्देशन मानवीय दृष्टिले उचित नभएको विस्थापित परिवारको भनाइ छ।

आठ महिनादेखि अस्थायी आश्रयमा जीवन बिताइरहेका परिवारको पुनःस्थापनाको प्रश्न अझै अनुत्तरित छ। प्रशासनले अभिलेख र कानुनी व्यवस्थाका आधारमा सेन्टर खाली गराउन खोजेको छ भने विस्थापित परिवारले पहिले सुरक्षित आवास सुनिश्चित गर्नुपर्ने अडान राखेका छन्। यसले सरकारी पुनःस्थापना प्रतिबद्धता र त्यसको कार्यान्वयनबीचको अन्तरलाई फेरि सतहमा ल्याएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार