संवेदनशील सूचना चुहावटको आरोप लागेका सशस्त्रका एआईजी वंशीराज दाहाल बर्खास्त

संवेदनशील सूचना चुहावटको आरोप लागेका सशस्त्रका एआईजी वंशीराज दाहाल बर्खास्त


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ असोज २०८३
  • 589
    Shares

काठमाण्डौ, २३ असोज २०८३ ।

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशी राज दाहाललाई सेवाबाट बर्खास्त गरिएको छ। सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको र पदीय आचरणविपरीत कार्य गरेको आरोपमा गृह मन्त्रालयले उनीमाथि विभागीय कारबाही गर्दै सेवाबाट हटाउने निर्णय गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार दाहाललाई आजैदेखि लागू हुने गरी सेवाबाट हटाइएको हो। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रचलित कानुन तथा कर्मचारीले पालना गर्नुपर्ने पदीय आचरणविपरीत कार्य गरेको आधारमा उनीमाथि विभागीय कारबाही गरिएको उल्लेख छ।

दाहाललाई यसअघि गत असोज १९ गते सरकारले निलम्बन गरेको थियो। सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको आरोपमा उनलाई निलम्बन गरी घटनाबारे थप छानबिन अघि बढाइएको थियो।

सशस्त्र प्रहरी बलले दाहालबाट पदीय जिम्मेवारी र आचरणविपरीत कार्य भएको भन्दै कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गरेको थियो। सोही प्रकरणमा जाँचबुझ गरी प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृतसमेत तोकिएको मन्त्रालयले जनाएको छ।

सुरक्षा निकायका उच्च अधिकारीसँग सम्बन्धित यो घटनालाई सुरक्षा संवेदनशीलता र संस्थागत अनुशासनका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। संवेदनशील सूचनाको चुहावटले सुरक्षा व्यवस्थामा पार्न सक्ने प्रभावलाई ध्यानमा राख्दै मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएको देखिन्छ।

छानबिनमा के–के विषय उठे?

दाहालमाथिको कारबाही प्रक्रिया अघि बढ्नुमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनी भेट्न गएको घटना पनि चर्चामा आएको थियो। उनी टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको र त्यहाँ जबरासँग भेट गरेको विषय सार्वजनिक भएपछि उनको भूमिकामाथि प्रश्न उठेको थियो।

त्यस्तै, दाहाल र इनम सापकोटाबीच सम्पर्क तथा संवाद हुने गरेको विषयमा समेत छानबिनका क्रममा सोधपुछ भएको समाचारमा उल्लेख छ। दाहालले सापकोटासँग चिनजान र संवाद रहेको स्वीकार गरे पनि आफूले पदीय आचरणविपरीत काम नगरेको जिकिर गरेको विवरण सार्वजनिक भएको छ।

सशस्त्र प्रहरीका अर्का एआईजी अञ्जनीकुमार पोखरेल नेतृत्वको छानबिनले दाहालले आचरणविपरीत कार्य गरेको निष्कर्षसहित कारबाही सिफारिस गरेको छ। प्रतिवेदन गृह मन्त्रालयमा बुझाइएको समाचार प्रकाशित भएका छन्

प्रतिक्रिया
सम्बन्धित समाचार