तनहुँ, २६ असोज २०८३ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थित डुम्रीडाँडामा बोलेरो जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।
बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग २ च ३२६९ नम्बरको बोलेरो जीप सोमबार साँझ करिब ५ः४५ बजे उकालो सडकमा ब्याक भई करिब सात मिटर तल नालीमा खसेर दुर्घटनाग्रस्त हुँदा एक महिलाको मृत्यु भएको हो भने अन्य छ जना घाइते भएका हुन्।
उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएकी आँबुखैरेनी गाउँपालिका–६ छापस्वाराकी ४७ वर्षीया इन्द्रमाया गुरुङलाई तत्काल उद्धार गरेर उपचारका लागि आँबुखैरेनी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।
प्रहरीका अनुसार, सोही दुर्घटनामा सोही स्थानका ४९ वर्षीय तोकबहादुर गुरुङ, २१ वर्षीया भारती गुरुङ, १४ वर्षीया अम्बिका गुरुङ, ६९ वर्षीय बकुलाल गुरुङ, ३५ वर्षीय सानो कान्छा गुरुङ र १६ वर्षीया रिश्मा गुरुङ घाइते भएका छन्। उनीहरू सबैको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको नेतृत्वमा ट्राफिक प्रहरीसहित १० जनाको टोली घटनास्थलमा खटिएको थियो।
दुर्घटनामा संलग्न बोलेरोका चालक आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्क निवासी ३३ वर्षीय लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।