दाङ, २९ असोज २०८३।
दाङको घोराहीमा बिहीबार साँझ दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएर आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्दु।
घोराही उपमहानगरपालिका-१५ स्थित बुद्ध हस्पिटल चोकमा तीव्र गतिमा आएका दुई मोटरसाइकल ठोक्किएका थिए। ठक्करपछि मोटरसाइकलमा आगो सल्किएको थियो।
दुर्घटनामा मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-२ रामपुरका ४० वर्षीय टोपबहादुर वली रहेको जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा बंगलाचुली गाउँपालिका-४ का सुनिल खत्री र रामबहादुर डाँगी घाइते भएका छन्। घाइतेहरुको घोराहीमा उपचार भइरहेको छ।
दुर्घटनापछि लागेको आगो घोराही उपमहानगरपालिकाको दमकलले निभाएको थियो। मोटरसाइकल पूर्ण रुपमा जलेकाले नम्बर पहिचान हुन नसकेको एसपी श्रेष्ठले बताए।
प्रहरीका अनुसार एउटा मोटरसाइकलमा तीन जना सवार थिए। बंगलाचुली-४ का मोटरसाइकल चालक मोहन डाँगी दुर्घटनापछि फरार रहेका छन्।
फरार चालकको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।