पोखरा, २९ असोज २०८३ ।
जाजरकोटमा गएराती जिप दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
सुर्खेतबाट जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२४३ नम्बरको जिप बिहीबार बिहान करिब २ बजे जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ गैरीगुवामा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको हो भने अन्य तीन जना घाइते छन्।
उक्त दुर्घटनामा जिप चालक जुनीचाँदे गाउँपालिका–९, कल्ली स्यालाका २० वर्षीय सान्तबहादुर बस्नेत र जुनीचाँदे गाउँपालिका–३, स्यालाका दिलबहादुर भण्डारीकी ३० वर्षीया श्रीमती बिपना भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए ।
सोही दुर्घटनामा दिलबहादुर भण्डारी र उनका चार वर्षीय छोरा शिशिर भण्डारी घाइते भएका छन् । दिलबहादुरको टाउको, घाँटी र छातीमा चोट लागेको छ भने शिशिरको टाउको र हातमा चोट लागेको प्रहरीले जनाएको छ । त्यस्तै, जुनीचाँदे गाउँपालिकाकी ५० वर्षीया सितला टमटाको टाउको र ढाडमा चोट लागेको छ ।
घाइते तीनै जनाको अवस्था मध्यम रहेको र थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको डीएसपी पुरीले बताए ।दुर्घटनाकोे थप विवरण आउन बाँकी रहेको छ ।