पोखरा, २९ असोज २०८३ ।
पोखराको पोखरा बसपार्कबाट अबैध लागूऔषध सहित दुई युवा पक्राउ परेका छन्।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका-९ पृथ्वीचोक बसपार्क क्षेत्रमा चेकजाँच गर्ने क्रममा दुई जना युवालाई अबैध लागू औषधसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा पोखरा-९ पृथ्वीचोक बस्ने वर्ष २९ का आशिष गुरुङ र सोही क्षेत्रस्थित कृष्णटोलका वर्ष १९ की मुस्कान लामा रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार , पृथ्वीचोक बसपार्कमा पक्राउ परेका गुरुङ्को साथबाट Diazepam लेखिएको ६ एम्पुल, IPPL Buprenorphine लेखिएको ७ एम्पुल र Promethazine Hydrochloride लेखिएको १० एम्पुल गरी जम्मा २३ एम्पुल लागूऔषध बरामद भएको थियो।
प्रारम्भिक सोधपुछका क्रममा उनले उक्त लागूऔषध पोखरा-९ कृष्णटोल बस्ने वर्ष १९ की मुस्कान लामाबाट खरिद गरेर ल्याएको बताएपछि प्रहरीले लामाको घरकोठामा समेत खानतलासी गरेको थियो।
खानतलासीका क्रममा लामाको कोठाबाट Diazepam का १६ एम्पुल, Buprenorphine का १६ एम्पुल र Promethazine Hydrochloride का १६ एम्पुल गरी जम्मा ४८ एम्पुल लागूऔषध बरामद भएको हो।
दुवै जनाको साथबाट गरी कुल ७१ एम्पुल लागूऔषध बरामद गरिएको र उनीहरूलाई पक्राउ गरी लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।