सप्तरी, २९ असोज २०८३।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरुङ्गा नगर समितिका सभापति साविर हुसेन पार्टी कार्यालयबाटै पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय लहानको टोलीले उनलाई सुरुङ्गा नगरपालिका-४ कदमाहा बजारस्थित रास्वपाको पार्टी कार्यालयबाटै पक्राउ गरेको हो।
सवारी दुर्घटना र लागुऔषध गाँजा बरामद भएको मुद्दामा फरार रहेका हुसेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।
प्रहरीका अनुसार , घटना २०८१ मंसिर २९ गतेको हो। धनगढीमाई नगरपालिका-१० जिरोमाइलस्थित पूर्व-पश्चिम राजमार्गमा ना. ३ ख ७५९१ नम्बरको ट्रक र बा. ८ च ९९६३ नम्बरको कार एकआपसमा ठोक्किएका थिए।
दुर्घटनापछि कारमा खानतलासी गर्दा पाँचवटा पोकामा राखिएको १ क्विन्टल ३० किलो गाँजा बरामद भएको थियो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रकले उत्तरबाट राजमार्ग पार गर्दै गरेको कारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले ट्रक, ट्रक चालक र कार नियन्त्रणमा लिए पनि कारका चालक फरार भएका थिए। फरार चालक सोही मुद्दामा खोजीमा रहेका साविर हुसेन रहेको र इलाका प्रहरी कार्यालय लहानमा उनीविरुद्ध लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएको प्रवक्ता पालले बताए।