कपिलवस्तु , ३० असोज २०८३।
कपिलबस्तुमा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएपछि भागेका चालकलाई हवाई फायर गरेर प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको मायादेवी गाउँपालिका-१ पिचुर्खी चोकमा सोमबार अपराह्न ४:३५ बजेतिर बाटोमा खेलिरहेका स्थानीय टुफेल अहमदका चार वर्षीय छोरा उसेद खानलाई ठक्कर दिएर भागेको एमएच ४७ जेड ४९४१ नम्बरको भारतीय मोटरसाइकलका चालकलाई प्रहरीले हवाई फायर गरेर प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार , उक्त दुर्घतानापश्चात भाग्दै गरेको उक्त मोटरसाइकलका चालक मायादेवी गाउँपालिका-१ बर्रोहियाका २० वर्षीय रियाज अहमद मुसलमानलाई मंगलबार बिहान लिने क्रममा प्रहरीले हवाई फायर गर्नुपरेको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रीपेन्द्रकुमार सिंहका अनुसार सोमबार अपराह्न ४:३५ बजेतिर मायादेवी गाउँपालिका-१ पिचुर्खी चोकमा बाटोमा खेलिरहेका स्थानीय टुफेल अहमदका ४ वर्षीय छोरा उसेद खानलाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो।
दुर्घटनापछि मोटरसाइकलसहित चालक फरार भएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले स्थानीयसँग सोधपुछ र सीसीटीभी फुटेजको विश्लेषण गरी मोटरसाइकल र चालकको खोजी शुरु गरेको थियो। खोजतलासकै क्रममा मंगलबार बिहान करिब १:४५ बजे शुद्धोधन गाउँपालिका-६ कर्मास्थित ड्याम साइड नजिक शंकास्पद अवस्थामा एमएच ४७ जेड ४९४१ नम्बरको भारतीय मोटरसाइकल फेला परेको थियो।
दुर्घटनामा संलग्न भएको आशंकामा प्रहरीले मायादेवी गाउँपालिका-१ बर्रोहियाका २० वर्षीय रियाज अहमद मुसलमानलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा उनी खेततर्फ भाग्न खोजेपछि भाग्दै गरेका उनलाई नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको थियो। पक्राउ परेका चालक र बरामद मोटरसाइकलबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।