गुल्मी, ३१ असोज २०८३।
गुल्मीमा बृद्धामाथि आक्रमण गरेर सुनको सिक्री लुटेर भाग्दै गरेका युवालाई स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन्।
बिहीबार साँझ करिब ५:३० बजे जिल्लाको रेसुङ्गा नगरपालिका-१३ भगेरीस्थित आफ्नै घरमा एक्लै बस्दै आएकी वर्ष ६५ की यमकला छन्त्यालको घरमा प्रवेश गरेर धारिलो हतियार (हँसिया) ले टाउकोमा हानी घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्दै गरेका युवालाई स्थानीय बासिन्दाले समातेर प्रहरीलाई बुझाएका हुन।
प्रहरीका अनुसार , घाइते बृद्धा मकला छन्त्यालको चिच्याहट सुनेपछि छिमेकका स्थानीय युवाहरू जम्मा भएका थिए । स्थानीयको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गुल्मीदरबार गाउँपालिका-७ बोह्रेटेमा भाग्दै गरेको अवस्थामा एक युवकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका-१२ बस्ने वर्ष ३३ का सोनु कामी रहेको प्रहरीले जनाएको छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याएर थप अनुसन्धान भइरहेको छ ।
यता घाइते यमकला छन्त्याललाई तत्काल उद्धार गरी जिल्ला अस्पताल तम्घासमा लगिएको छ । अस्पताल स्रोतका अनुसार उनको उपचारमा छोरा झक बहादुर छन्त्याल संलग्न छन् र उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ ।