काठमाडौं, २८ असोज २०८३।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय कार्यालयका लागि घरजग्गा खरिद गर्ने प्रक्रिया अघि बढाएको छ।
पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वका लागि हालको अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन गरी केन्द्रीय कार्यालयलाई आफ्नै स्वामित्वको स्थायी संरचनामा स्थानान्तरण गर्ने असोज १७ गते बसेको केन्द्रीय समितिको निर्णय बमोजिम खरिद प्रक्रिया अघि बढाइएको रास्वपाले जनाएको छ।
रास्वपाले मंगलबार असोज २८ गते वनस्थलीस्थित केन्द्रीय कार्यालयबाट सार्वजनिक सूचना जारी गर्दै इच्छुक घरधनी तथा जग्गाधनीबाट २१ दिनभित्र प्रस्ताव माग गरेको हो।
यस्तो छ मापदण्ड:
प्रवक्ता जगदीश खरेलका अनुसार रास्वपाले काठमाडौं उपत्यकाभित्र चक्रपथसँग जोडिएको वा चक्रपथ नजिकको क्षेत्रलाई प्राथमिकता दिएको छ।
कम्तीमा ३ रोपनी क्षेत्रफल भएको, कम्तीमा २० फिट चौडा पक्की सडकले छोएको, कानुनी विवादरहित, आवागमनका दृष्टिले सहज र कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको घर वा पूर्वाधार निर्माण गर्न पुग्ने जग्गा आवश्यक रहेको जनाइएको छ।
पार्टीले आवागमन सहज, पर्याप्त भौतिक पूर्वाधारयुक्त र कार्यालय प्रयोजनका लागि उपयुक्त घर वा जग्गालाई प्राथमिकता दिने जनाएको छ। तोकिएको सर्त तथा मापदण्ड पूरा गर्ने घरधनी/जग्गाधनीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्रस्ताव पेस गर्न सक्नेछन्।