उदयपुर, २९ असिज २०८३।
उदयपुरमा बस दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ८५२२ नम्बरको बस आज दिउँसो करिब ३:५० बजे मदन भण्डारी लोकमार्ग अन्तर्गत त्रियुगा नगरपालिका–७ कालीखोला सुर्केमा अनियन्त्रित भई सडक छेउमा पल्टिएर दुर्घटनाग्रस्त हुँदा एक युवतीको मृत्यु भएको हो भने १५ जना घाइते भएका छन्।
उक्त दुर्घटनामा गम्भीर घाइते भएकी चौदण्डीगढी नगरपालिका–२ बसाहा निवासी १८ वर्षीया सोनु बसेलको जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बसमा सवार अन्य १५ जना घाइते भएका छन्। घाइते सबैलाई जिल्ला अस्पताल उदयपुर लगिएको थियो। घाइतेमध्ये ओखलढुङ्गाको लिखु गाउँपालिका–३ निवासी ३२ वर्षीय धनबहादुर जोगीको अवस्था मध्यम रहेकाले थप उपचारका लागि धरान रेफर गरिएको छ।
प्रहरीका अनुसार दुर्घटनामा खोटाङ, सङ्खुवासभा, सुनसरी, पाँचथर, ओखलढुङ्गा, उदयपुर, काठमाडौँ, मोरङ र धनकुटाका यात्रु घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको छ।
दुर्घटनापछि प्रहरीले बस चालक ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१० निवासी करिब ३० वर्षीय सुमन खत्रीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।