मध्यमवर्ग किन र कसरी नेपालमा क्रान्तिकाे महत्वपूर्ण अाधार बन्दैछ ?

मध्यमवर्ग किन र कसरी नेपालमा क्रान्तिकाे महत्वपूर्ण अाधार बन्दैछ ?


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३ भाद्र २०७३
  • 11.9K
    Shares

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले नेपालमा मध्यम वर्ग नेपाली क्रान्तिको महत्वपूर्ण आधारको रुपमा चित्रण गरेपछि राष्ट्रिय राजनीतिमा निकै चर्चा र बहसको विषय बनेको छ । बदलिदो नेपाली समाजको चरित्रमा आएको परिवर्तनलाई आंकलन गरेर नेकपा माओवादीले किसान र मजदुर वर्गलाई आधारभूत वर्ग मान्दामान्दै पनि अहिले नेपालमा मध्यम वर्ग क्रान्तिको महत्वपूर्ण आधार बन्न पुगेको संश्लेषण गरेको छ ।

यसै सेरोफेरोमा रहेर नेकपा माओवादीका पोलिटब्युरो सदस्य अनिल शर्मा विरहीले पार्टीको मुखपत्रमा अबको क्रान्तिमा मध्यमवर्गको भूमिका कस्तो हुन्छ भन्नेबारे लामो लेख लेखेका छन् ।

उनले नेपाल र विश्वमा मध्यम वर्गको स्थितिबारेमा मोटामोटी केलाउने प्रयत्न गरेका छन् । विकसित युरोप र अमेरिकामा मध्यम वर्गको स्थिति र नेपालजस्ता मुलुकमा मध्यम वर्गको अवस्थाबारे शर्माले संक्षेपमा केलाउने प्रयत्न गरेका छन् ।

एक सय वर्षअघिको युरोप र आजको युरोपको मध्यम वर्गको स्थिति के थियो र अहिले कस्तो छ त भन्नेबारे शर्मा लेख्छन् –

‘आजभन्दा एक सय वर्षअगाडि ५७७ अमेरिकी डलर वार्षिक आय हुने व्यक्तिलाई युरोपमा माध्यम वर्ग भनिन्थ्यो । आज सामान्य मजदुरले पनि साता वा महिनामा त्यति कमाउन सक्छन् । खर्चको दर र आयमा ठूलो हेरफेर भएको छ । अमेरिकी ‘मजदुर तथ्याङ्क ब्युरो’ को तथ्याङ्कअनुसार दैनिक ८ घण्टा काम गर्ने मजदुरले सरदर सातामा ७९६ डलर कमाउन सक्छ । सन् २००६ मा अमेरिकाको ‘ब्लुमिङ्गटन तेश्रो’ ले गरेको सर्वेक्षणअनुसार अमेरिकाको मध्यम वर्ग वित्तीय असुरक्षाको दिशामा धकेलिएको छ ।

अमेरिका र युरोपमा भाडामा घर पाउनसमेत कठिन हुँदै गएको छ । आफ्नो आयको ३० प्रतिशत रकम घरभाडामा नै खर्चिनुपर्छ ।

अमेरिकाको ‘गिर्जाघर अनुसन्धान कोष केन्द्र’ ले सन् २०१४ मा गरेको सर्वेक्षणअनुसार अमेरिकामा सन् २००८ मा ५३ प्रतिशत रहेको मध्यम वर्ग सन् २०१४ मा घटेर ४५ प्रतिशत भएको छ भने सन् २००८ मा २५ प्रतिशत रहेको निम्नमध्यम वर्ग बढेर ४० प्रतिशत पुगेको छ ।’

युरोप र विकसित देशको मध्यम वर्गको तथ्यांक अनि चीन र भारतमा बढिरहेको मध्यमवर्ग र अहिले नेपालमा मध्यमवर्गको तथ्यांकबारे फरक फरक रहेको भन्दै उनी लेख्छन् –

‘युरोप र अन्य विकसित देशको तथ्याङ्क त्योभन्दा भिन्न छैन । यता चीन, भारतलगायत विकासशील देशमा भने मध्यम वर्गको संख्या बढिरहेको छ । अल्पविकसित देशहरुमा पनि मध्यम वर्गको संख्या धिमा गतिमा भए पनि बढिरहेको छ । विश्वमा मध्यम वर्गको निश्चित परिभाषा छैन । विश्व बैंकको परिभाषा पनि सबैतिर मिल्दैन । जीवनयापनको शैली र खर्चको दरले गर्दा काठमाडौँ र जुम्ला, हवाई र अलास्का, साङ्घाई र युदूका बीचमा मध्यम वर्गको परिभाषा फरक हुन जान्छ ।’

अमेरिकामा मध्यमवर्गको अवस्था के छ त भन्नेबारे अनिल शर्मा लेख्छन् –

‘बुद्धिजीवी जेक विलियमले मध्यम वर्गलाई ‘नयाँ गरिब’ भनेका छन् । अमेरिकामा २३,८५० डलर वार्षिकभन्दा कम आय हुनेलाई गरिब परिवार भनिन्छ भने मध्यम वर्गमा २५,५०० डलरदेखि ७६,५०० डलर वार्षिक आय हुनेलाई मध्यम वर्ग भन्न सकिने कुरा क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक तथा निवर्तमान श्रमसचिव रोवर्ट रेइचले बताएका छन् ।’

नेपालमा अहिले ठ्याक्कै मध्यमवर्गको अवस्था कस्तो छ त भन्नेबारे शर्मा लेख्छन् –

‘एक तथ्याङ्कअनुसार नेपालमा मध्यम वर्गको संख्या कुल जनसंख्याको २४ प्रतिशत पुगेको छ । अर्थतन्त्र नोकरशाही अर्थ–सम्बन्धतिर जानु र बजार पुँजी बढ्नुले गर्दा नेपालको मध्यम वर्ग बढिरहेको छ । निश्चित बिन्दुसम्म यसको संख्या बढ्नै जानेछ । साना व्यापारी, उद्यमी, अध्यापक, इन्जिनियर, स्वास्थ्यकर्मी, कर्मचारी, कानुन व्यवसायी, पर्यटन व्यवसायी आदि क्षेत्रमा मध्यम वर्गको विस्तार भैरहेको छ ।’

दलाल र मध्यमवर्गबीच कस्तो सम्वन्ध हुन्छ ? दलाल पुँजीवादले मध्यमवर्गलाई कसरी दमन गर्छ भन्नेबारे माओवादी पोलिटब्युरो सदस्य शर्मा लेख्छन् –

‘दलाल पुँजीवादले मध्यमवर्गको विकास अवरोध गरिरहेको छ । त्यसैले दलाल पुँजीवादविरोधी संघर्षमा मध्यम वर्ग सहयोगी हुनसक्छ । अमेरिकामा मध्यम वर्ग नयाँ गरिब वर्ग हुनसक्छ । तर नेपालमा मध्यम वर्ग पुँजीपति वर्ग र श्रमिक सर्वहारा वर्गका बीचको वर्ग हो । यो निश्चित रुपमा तरल वर्ग नै हो तर यो दलाल पुँजीवादको विरुद्ध उभिन बाध्य छ ।’

आज विश्वमा मध्यमवर्गलाई पुँजीवादीहरुले कसरी व्याख्या गरिरहेका छन् त भन्नबोर इतिहासको अन्त्यको घोषणा गर्ने फुकुयामाको भनाई उल्लेख गर्दै शर्मा लेख्छन् –

‘विज्ञ फ्रान्सिस फुकुयामाले आजको राजनीतिक तथा आर्थिक संकटको केन्द्रमा मध्यम वर्ग रहेको बताएका छन् । टर्की, ब्राजिल, स्पेन, इटालीलगायत देशहरुमा भएका सरकारविरोधी प्रदर्शनले युरोपमा ‘पक्षघातको खतरा’ महसुस गर्न थालिएको छ ।’

आजभन्दा ५ वर्षअघि सन् २०११ मा अरब विद्रोह मध्यमवर्गको नेतृत्वमा भएको बताउदै नेता शर्मा नेपालमा पनि अब मध्यमवर्गको भूमिका महत्वपूर्ण रहेको बताउछन् ।

लेख्छन्– ‘विकसित देशहरुमा भएका प्रदर्शन मात्र होइन, सन् २०११ मा भएको ‘अरब वसन्त’ मा मध्यम वर्गको नेतृत्व भएको ठानिएको छ । आर्थिक संकटसँगै सरकारी अनुदानमा कटौती तथा लोककल्याणकारी कार्यक्रमबाट राज्यको पश्चगमनको कारण मध्यम वर्ग छट्पटाउन थालेको छ र त्यो वर्ग सडकमा पोखिन थालेको छ ।’

आजको विश्वमा विकसित देशका शासकहरु मध्यमवर्गबाट किन आतंकित भइरहेका छन् भन्नेबारे शर्मा लेख्छन –

‘पुँजीपति वर्गले प्रविधिमाथि एकाधिकार कायम गरेको छ । प्रविधिलाई प्रतिक्रान्तिको आधार बनाएको छ । मध्यम वर्ग विद्रोहमा उत्रियो भने प्रविधिमाथिको पुँजीपति वर्गको एकाधिकार अन्त्य हुनेछ । त्यसकारण मध्यम वर्गको राजनीतिमा बढ्दो सहभागिताका कारण युरोपको शासक वर्ग त्रसित भएको छ ।’

प्रतिक्रिया