अन्तत: भारतीय फिल्मले काठमाडौंका हलमा पायो प्रदर्शन, पोखरामा भने छैन टुंगो

अन्तत: भारतीय फिल्मले काठमाडौंका हलमा पायो प्रदर्शन, पोखरामा भने छैन टुंगो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ असार २०८०
  • 7.4K
    Shares

भारतीय फिल्मले काठमाडौंका हलमा पायो प्रदर्शन

काठमाडौंका हलमा भारतीय फिल्म प्रदर्शन हुने भएको छ ।

पाटन उच्च अदालतले बिहीवार काठमाडौं महानगरलाई अल्पकालिन अन्तरिम आदेश दिएसँगै भारतीय फिल्म ‘जरा हट्के जरा बचके’ पुनः रिलिज भएको छ ।

अधिकांश हलले विक्की कौशल र सारा अली खान स्टार फिल्मको शो प्रकाशित गरेका छन् । नयाँ फिल्म नभएपछि अदालतको आदेशलाई कार्यान्वयन गर्नको लागि सांकेतिकस्वरुप पुरानै फिल्मलाई पुनः रिलिज गरिएको चलचित्र संघले जनाएको छ । अदालतको आदेशपछि बिहीवार बेलुका बसेको संघको बैठकले भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

अदालतले सेन्सर पास भैसकेका फिल्मलाई समेत रोक नलगाउने आदेश दिएसँगै ‘आदिपुरुष’को प्रदर्शनको लागि पनि बाटो खुलेको छ । तर, वितरक ब्यांकटेस इन्टरटेनमेन्टले यसबारे कुनै निर्णय नभैसकेको बताएको छ । ‘हामी परिस्थिती कसरी अघि बढ्छ, हेछौं अनि यसबारे निधो गर्नेछौं’ कम्पनीका मनोज राठीले भने ।

चलचित्र संघका प्रदर्शन सभापति प्रज्वल राणाले अदालतको आदेशलाई सम्मान गर्दै भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिने निर्णय संघको बैठकले गरेको बताए । पाटन उच्च अदालतले आगामी मंगलबार चलचित्र संघ र काठमाडौं महानगर दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

तर, पोखरा महानगरमा भने यो सप्ताहन्त भारतीय फिल्म प्रदर्शन नहुने भएको छ । मिडटाउन सिनेमाज् मल्टिप्लेक्सका प्रमुख निकेश द्धाले यसबारे आगामी आइतबार महानगर प्रमुखसँग छलफल गर्न लागिएको बताए । ‘पोखरामा कसरी अघि बढ्ने भन्नेबारेमा आइतबार मेयरसँग छलफल हुँदैछ । त्यसपछि प्रदर्शनबारे टुंगो लाग्ला’ उनले भने ।

प्रतिक्रिया