काठमाण्डौ, २४ कार्तिक २०८३।
प्रधानमन्त्री बालेन शाहले रिसराग सबै भुलेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउन आह्वान गरेका छन्।
नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको अवसरमा सामाजिक सञ्जालमार्फत देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना दिँदै उनले राष्ट्रिय विभूति शंखधर साख्वाःको स्मरण गरेका छन्।
‘शंखधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गर्नुभएको नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान हो,’ प्रधानमन्त्री शाहले भनेका छन्।
म्ह पूजाबारे उनले भने, ‘म्ह अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर आफैँले आफैँलाई पूजा गर्ने यस परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ।’
यो मौलिक परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाएको र त्यो गौरवको विषय भएको पनि उनले बताए।
‘हाम्रा यी मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून्,’ प्रधानमन्त्री शाहले शुभकामनामा भनेका छन्।
