काठमाण्डौ, २४ कार्तिक २०८३।
अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस नजिक शंकश्पद गतिबिधि गरेको भन्दै दुई जनालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ।
ह्वाइट हाउस नजिक सोमबार बिहान भएका दुईवटा छुट्टाछुट्टै सुरक्षा उल्लंघनपछि दुई जनालाई हिरासतमा लिइएको अमेरिकी सिक्रेट सर्भिसलाई उद्धृत गर्दै अलजजिरा टेलिभिजनले समाचार लेखेको छ।
पहिलो घटनामा बिहान करिब १० बजे ह्वाइट हाउसको ठिक अगाडि रहेको लाफायेट पार्कको फुटपाथमा एउटा गाडी चढेको थियो। सिक्रेट सर्भिस प्रहरी र नेसनल गार्ड पार्कको उत्तरी भाग, १६औँ र एच स्ट्रिट नजिक पुगेका थिए।
भिडियोमा चाँदी रङको सेडान गाडीबाट धुवाँ निस्किएको र चालक गाडीबाट निस्किएर प्रहरीमाथि हात उठाएको देखिएको छ। सिक्रेट सर्भिसका अनुसार, “चालकले प्रहरीसँग झगडा गरे पनि उनलाई चाँडै पक्राउ गरियो।” पक्राउपछि गाडी जाँच गर्न महानगरीय प्रहरीको बम डिस्पोजल टोली बोलाइएको थियो।
लगभग त्यही बेला अर्का व्यक्तिले लाफायेट पार्कको उत्तरपश्चिम कुनामा सुरक्षा ब्यारियर नाघेका थिए। दुवै घटना जोडिएका हुन् वा होइनन् भन्ने अझै स्पष्ट छैन।
घटना हुँदा राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै थिए। त्यसपछि ह्वाइट हाउसलाई केहीबेर लकडाउन गरियो र वरपरका सडक बन्द गरिए। ह्वाइट हाउस प्रेस पुलका अनुसार करिब एक घण्टापछि लकडाउन हटाइएको थियो।
पक्राउ परेकाहरूलाई के आरोप लगाइने भन्ने अधिकारीहरूले बताएका छैनन्। दुवै घटनाबारे अनुसन्धान जारी छ। समाचार स्रोत अलजजिरा टेलिभिजन