बिरालो र खरायोको खानाको प्याकेटमा लुकाएर ल्याइएको २२ करोडको हेरोइनसहित भारतीय नागरिक पक्राउ

बिरालो र खरायोको खानाको प्याकेटमा लुकाएर ल्याइएको २२ करोडको हेरोइनसहित भारतीय नागरिक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३० कार्तिक २०८३
  • 3.2K
    Shares

काठमाडौं , २९ कार्तिक २०८३।

बिरालो र खरायोको खानाका प्याकेटभित्र लुकाएर नेपाल भित्र्याइएको करिब २२ करोड रुपैयाँ बजार मूल्य बराबरको पाँच किलो पांच सय ग्राम सेतो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवराज तिघारे रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरी टोलीले शंकास्पद यात्रुको निगरानी तथा जाँच गर्ने क्रममा थाइल्यान्डबाट हवाई जहाज मार्फत नेपाल आउंदै गर्दा उनलाई आइतबार राती पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।

उनको लगेज खानतलासी गर्दा बिरालो र खरायोका लागि प्रयोग हुने खानाका प्याकेटभित्र लुकाएर ल्याइएको अवस्थामा पाँच किलो ५०० ग्राम सेतो हेरोइन फेला परेको ब्यूरोले जनाएको छ।

ब्यूरोका अनुसार बरामद हेरोइनको नेपाली बजार मूल्य प्रतिग्राम ४० हजार रुपैयाँका दरले करिब २२ करोड रुपैयाँ हुन्छ। उक्त लागुऔषध भारत पुर्‍याउन सफल भएको भए त्यहाँ यसको मूल्य अझ बढी हुने प्रहरीको भनाइ छ।

प्रहरीले तिघारे अन्तर्राष्ट्रिय लागुऔषध कारोबारमा संलग्न गिरोहका मुख्य व्यक्तिमध्ये एक रहेको दाबी गरेको छ। अनुसन्धानका क्रममा उनी यसअघि पनि दुईपटक नेपाल आएको खुलेको छ।

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार उनी सन् २०२५ नोभेम्बर ४ र २०२६ फेब्रुअरी २६ मा लाओसबाट नेपाल आएका थिए। पहिलोपटक हवाई मार्ग र दोस्रोपटक स्थलमार्ग हुँदै नेपाल प्रवेश गरी भारतसम्म लागुऔषध पुर्‍याउने गतिविधिमा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

तिघारेले लाओसबाहेक जिम्बाब्वे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियासमेत भ्रमण गरेको पाइएको प्रहरीले जनाएको छ। उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्र, एक थान पासपोर्ट र मोबाइल फोनसमेत बरामद भएको छ।

१५ वर्षदेखि जन्मकैदसम्मको सजाय हुन सक्ने

नेपालको लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार बरामद भएको परिमाणको हेरोइनको कारोबारमा संलग्नलाई १५ वर्षदेखि जन्मकैदसम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था छ। साथै पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान रहेको छ।

पक्राउ परेका तिघारेमाथि लागुऔषधको अन्तर्राष्ट्रिय कारोबार, ओसारपसारको सञ्जाल तथा नेपाललाई ट्रान्जिट बनाएर भारतसम्म लागुऔषध पुर्‍याउने गतिविधिबारे ब्यूरोले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार