पोखरामा नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस महोत्सव सुरु भएको छ ।
नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना सुरु भएको महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उद्घाटन गर्दै यसो भने -“नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको र महोत्सवले दुई देशबीचको सम्बन्धमा थप इट्टा थप्ने छ” ।
दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको बोट रेसमा चीनका चार र नेपालका चार गरी आठ टोलीले सहभागीता जनाउँदै छन् । यसअन्तर्गत २०० र ५०० मिटर दौडमा प्रतिस्पर्धा हुनेछ । विजेताले रु २० लाख नगद, मेडल तथा प्रमाणपत्र पाउने छन् ।
फेवाताल किनारमा आयोजित प्रतियोगितामा सातै प्रदेशबाट र चीनबाट गरी १६० जनाको सहभागिता छ । प्रतियोगितामा प्रयोग गरिने बोटलगायतका सामग्री चीनबाट ल्याइएको थियो ।
चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेपछि आयोजना गरिएको यो फेस्टिभलले पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास गरिएको छ ।