माथिल्लो त्रिशूली–१ मा ६ वटा शव भेटिए , पाँचसय ५१ जना अझै सम्पर्कविहीन

माथिल्लो त्रिशूली–१ मा ६ वटा शव भेटिए , पाँचसय ५१ जना अझै सम्पर्कविहीन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० भाद्र २०८३
  • 1.2K
    Shares

trishuli 3 a, माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा खोजी तथा उद्धार

पोखरा, २०  भदौ २०८३ ।

बाढीबाट क्षतिग्रस्त रसुवाको दुइसय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा खोजी तथा उद्धारका क्रममा शुक्रबार ६ जनाको शव भेटिएको छ। आयोजनाको हेडवर्क्स तथा सुरुङ क्षेत्रमा शुक्रबार दिनभर गरिएको खोजीका क्रममा ती शव भेटिएका हुन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार, सल्लेटार क्षेत्रमा फेला परेका शवलाई नेपाली सेनाले बट्टार ल्याएको छ। शवहरू पहिचान गर्न कठिन हुने अवस्थामा रहेकाले मृतकको पहिचान खुल्न बाँकी रहेको छ।

बाढी आउनुअघि आयोजनास्थलमा कुल एकहजार चारसय ३३ जना नेपाली तथा विदेशी कामदार, कर्मचारी र प्राविधिक कार्यरत थिए। तीमध्ये हालसम्म आठसय ७६ जनाको उद्धार भइसकेको छ भने पांच सय ५१ जना अझै सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ। आयोजनाको सुरुङभित्र मात्रै करिब ३०० जना फसेको आशंका गरिएको छ।

खोजी तथा उद्धारलाई तीव्र बनाउन आयोजनास्थलमा विभिन्न विशेषज्ञ टोली परिचालन गरिएको छ। कोरियाली उद्धार टोली, शेर्पा समूह, सर्च तथा ड्रोन टोलीसँगै विशेष क्यामेरा र तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको छ। उद्धारका लागि करिब १५ वटा विभिन्न मेशिन तथा उपकरण आयोजनास्थलमा पुर्‍याइएको जनाइएको छ।

सुरुङभित्र जमेको पानी निकाल्न पानी तान्ने पम्पसमेत सञ्चालनमा राखिएको छ। सुरुङ तथा हेडवर्क्स क्षेत्रमा थप उपकरण प्रयोग गरी शनिबारदेखि खोजी कार्यलाई अझ तीव्र बनाउने तयारी गरिएको छ।

यसअघि नेपाली सेनाको टोलीले आयोजनाको एक्सेस टनेलबाट रबर बोट प्रयोग गरी करिब २०० मिटरभित्र प्रवेश गरेर खोजी गरेको थियो। सुरुङको एक भाग अवरुद्ध अवस्थामा भेटिएको र त्यहाँबाट समेत शव फेला परेको विवरण सार्वजनिक भएको थियो।

बाढीले आयोजनाका संरचना ध्वस्त

भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीले माथिल्लो त्रिशूली–१ आयोजनाको हेडवर्क्स, कार्यालय तथा आवास क्षेत्रलगायतका संरचनामा ठूलो क्षति पुर्‍याएको छ। निर्माणाधीन आयोजनामा बाढी अत्यन्त छोटो समयमा लेदोसहित प्रवेश गरेपछि ठूलो संख्यामा कामदार तथा कर्मचारी सुरक्षित स्थानमा जान नसकेको आयोजनाले जनाएको छ।

आयोजनामा प्रवर्द्धक कम्पनी, परामर्शदाता तथा निर्माणमा संलग्न विभिन्न कम्पनीका नेपालीसहित कोरियाली, चिनियाँ, भारतीय र अन्य विदेशी नागरिकसमेत कार्यरत थिए। आयोजनाको निर्माण सन् २०२७ अर्थात् विसं २०८४ साउनसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

प्रतिक्रिया