काठमाडौं, १७ भदौ २०८३।
काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ परेकी छिन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले नगरपालिकाको भवन तथा बस्ती विकास शाखा प्रमुखसमेत रहेकी सातौँ तहकी इन्जिनियर कार्कीलाई घुस रकमसहित पक्राउ गरेको हो। उनीसँगै घुस रकम लिन मध्यस्थता गरेको आरोपमा आस्मा कार्कीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ।
नगरपालिका क्षेत्रभित्र भवन निर्माणका क्रममा आवश्यक पर्ने ‘स्ट्रक्चरल एनालाइसिस’ (संरचनात्मक विश्लेषण) स्वीकृत गरिदिएबापत सेवाग्राहीसँग घुस माग भइरहेको भन्ने विशेष सूचनाका आधारमा अख्तियारको टोलीले निगरानी बढाएको थियो। सोही क्रममा उनीहरूलाई ६४ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको आयोगले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धानका लागि मंगलबार विशेष अदालतबाट म्याद थप अनुमति लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
आयोगका अनुसार उनीहरूलाई हिरासतमा राखी गैरकानुनी लाभ लिएको आरोपमा थप अनुसन्धान भइरहेको छ। अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।