पोखरा, २० भदौ २०८३ ।
दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टार क्षेत्रमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) नदीको बहाव प्रभावित भएको छ। माथिबाट निरन्तर पहिरो खसिरहेकाले नदीको करिब आधा भाग थुनिएको र थप पहिरो गए नदी पूर्ण रूपमा अवरुद्ध हुनसक्ने जोखिम रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार पहिरोका कारण नदीमा अवरोध सिर्जना भएको छ। नदी पूर्ण रूपमा थुनिएर जलाशय बनेमा त्यसपछि अवरोध फुट्दा एक्कासि ठूलो मात्रामा पानी तलतर्फ बग्न सक्ने जोखिम छ। यही सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले चौलानी नदीको तटीय तथा तल्लो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले नदी आसपास नजान, सम्भावित जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानतर्फ सर्न तयार रहन तथा स्थानीय तह र सुरक्षा निकायले जारी गर्ने सूचनालाई गम्भीरतापूर्वक पालना गर्न आग्रह गरेको छ। नदीको अवस्था निरन्तर अनुगमन भइरहेको जनाइएको छ।
यसैबीच, पहिरोका कारण अपिहिमाल जाने पदमार्गमा समेत क्षति पुगेको र भट्टारबाट खायाकोट, ल्वाथी तथा लुम्चातर्फ जाने बाटो अवरुद्ध भएको विवरण सार्वजनिक भएको छ।
बैतडी जिल्ला प्रशासन कार्यालयले समेत चौलानी नदी थुनिएर बनेको जलाशय फुटेमा बैतडी–दार्चुला सीमाबाट बग्ने चमेलिया नदीमा एक्कासि पानीको सतह बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ। वर्षाका बेला नदी किनारमा नजानसमेत आग्रह गरिएको छ।
प्रशासनले विपद्का बेला उद्धार वा सहयोग आवश्यक परे राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC) ११४९, नेपाल प्रहरी १०० तथा सशस्त्र प्रहरी बल १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ।
हालसम्म मानवीय क्षति वा अन्य क्षतिको आधिकारिक पूर्ण विवरण सार्वजनिक भएको छैन। पहिरो आउने क्रम जारी रहेकाले अवस्था थप जोखिमपूर्ण बन्न सक्ने भन्दै प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई निरन्तर सतर्क रहन आग्रह गरेको छ।