पोखरा, १६ भदौ २०८३।
पोखरामा पहिचान हुन नसकेका शवहरुको मंगलबारदेखि पोखरा महानगरपालिका वडा नम्बर १६ उपल्लो दिप नजिकस्थित दिप हाउजिङमुनि रहेको सिंचाइको खाली जमिनमुनि व्यवस्थापन हुने भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले शव कुहिन थालेको र दुर्गन्धका कारण स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै गाड्ने उक्त स्थानमा जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरेको हो।
रसुवा बाढीले बगाएर विभिन्न जिल्लामा पुर्याएका १ सय २ शव अन्यत्र राख्ने स्थानको अभावमा पोखरा ल्याइएको थियो । गोरखाबाट ११, धादिङबाट २७, पूर्वी नवलपरासीबाट ४१ र तनहुँबाट ल्याइएका २३ शवमध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९२ र मणिपाल शिक्षण अस्पतालमा ९ शव राखिएको थियो । त्यसमध्ये सोमबार रातिसम्म १६ शव आफन्तले सनाखत गरी बुझेका छन् । बाँकी शव मंगलबारदेखि पोखरा–१६ मा रहेको सिंचाइको जग्गामा गाड्ने निर्णय भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले बताए ।
सबै शवको पोस्टमार्टम गरी डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ। शव गाड्नुअघि आफन्तले दाबी गरेमा सनाखतका लागि अवसर दिइनेछ।
पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ अनुसार शवलाई संकेत नम्बर राखेर सुरक्षित रूपमा गाडिने, स्थानको जीपीएस विवरण राखिने र तारजालीले घेरिनेछ। पछि आफन्तले दाबी गरेमा डीएनए परीक्षणबाट पुष्टि भएपछि शव निकालेर बुझाउन सकिनेछ। शवमाथि १२ वर्षसम्म दाबी गर्न सकिने व्यवस्था छ।
उक्त निएदेशिकामा जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा हुने शव व्यवस्थापन समितिले स्थानीय तहसँगको समन्वयमा शव व्यवस्थापन गर्छ । पोखरा महानगरपालिकाले शव गाड्ने खाडन खन्न एक्स्काभेटर, शव व्यवस्थापन गरिएको स्थल घेर्ने तारजाली, व्यवस्थापनका लागि आवश्यक अन्य सामग्री उपलब्ध गराउँछ ।
निर्देशिकामा भएको व्यवस्था बमोजिम डीएनए प्रोफाइलिङ गरेपछि ४० सेन्टिमिटरको फरकमा १.५ मिटर गहिरो खाडल बनाइन्छ । हावा नछिर्ने प्लास्टिक झोलामा शव र संकेत नम्बर राखेर माथिबाट माटोले पुरिन्छ । शव पुरिसकेपछि केही भागमा कंक्रिट प्रयोग गरी शवको संकेत नम्बरको ‘स्ट्यान्ड’ बनाइन्छ । शव गाडिएको स्थलको ‘जीपीएस लोकेसन’अनुसार नक्सा तयार गरिन्छ । गाडिएको स्थलमा जनावर र मानिसलाई जानबाट रोक्न तारजाली लगाइन्छ । शव गाडिसकेपछि कसैले तस्बिरको आधारमा आफन्तले दाबी गरे डीएनए रिपोर्ट नै कुनुपर्ने निर्देशिकामा व्यवस्था रहेको एसपी कार्कीले बताए ।
मंगलबारदेखि नेपाल प्रहरी अस्पतालमा आफन्तबाट डीएनए नमुना संकलन शुरु गरिने प्रहरीले जनाएको छ।