हेटौँडा–काठमाडौँ आवतजावतमा आजदेखि ‘वान–वे’ व्यवस्था

हेटौँडा–काठमाडौँ आवतजावतमा आजदेखि ‘वान–वे’ व्यवस्था


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ भाद्र २०८३
  • 1K
    Shares

hetauda ktm route, हेटौँडा–काठमाडौँ आवतजावतमा आजदेखि ‘वान–वे’ व्यवस्था

काठमाडौँ, १६ भदौः २०८३।

हेटौँडा–काठमाडौँ सडकखण्डमा सवारीसाधनको चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि एकतर्फी (वान–वे) मार्ग व्यवस्था लागू गरिएको छ।

स्थानीय प्रशासनका अनुसार १४ सिटभन्दा कम क्षमताका यात्रुवाहक सवारीसाधनले हेटौँडाबाट काठमाडौँ जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक प्रयोग गर्नुपर्नेछ। त्यसैगरी, काठमाडौँबाट हेटौँडा आउने सवारीले फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्ग हुँदै यात्रा गर्नुपर्ने व्यवस्था गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौँ जाँदा त्रिभुवन राजपथ र हेटौँडा फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीसाधनको चाप बढेको हो। सवारीको चाप व्यवस्थापन गरी वैकल्पिक सडकमा हुने जाम तथा लामो समयसम्म सवारी रोकिने समस्या कम गर्न ‘वान–वे’ व्यवस्था लागू गरिएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया