तातोपानी नाका अर्को सूचना नभएसम्म पूर्ण रूपमा बन्द

तातोपानी नाका अर्को सूचना नभएसम्म पूर्ण रूपमा बन्द


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ भाद्र २०८३
  • 1.1K
    Shares

tatopani naka , तातोपानी भन्सार , exchange 16 bhadau 2083

काठमाडौँ, १६ भदौ २०८३।

नेपाल–चीनबीचको दोस्रो ठूलो व्यापारिक नाका तातोपानी नाका चीनले अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको छ।

लिपिङ क्षेत्रमा पहिरोको जोखिम बढेपछि चिनियाँ पक्षले व्यापारिक गतिविधि रोक्ने निर्णय गरेको ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी निरौलाले जानकारी दिएकी छन्। उनका अनुसार पहिरोको जोखिम सामान्य अवस्थामा नआएसम्म नाका पुनः सञ्चालन हुने सम्भावना न्यून छ।

तातोपानी भन्सार कार्यालयका अनुसार चिनियाँ भन्सार अधिकारीले इमेलमार्फत तातोपानी (जाङ्मु) नाकाबाट हुने आयात–निर्यात अर्को सूचना जारी नभएसम्म बन्द रहने जानकारी गराएका छन्। यद्यपि, यात्रुहरूको आवतजावत भने नियमित रूपमा जारी रहनेछ।

यसैबीच, रसुवाको टिमुरे क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएपछि रसुवागढी नाका पनि प्रभावित अवस्थामा छ। दुवै प्रमुख नाका प्रभावित भएपछि दसैँ नजिकिँदै गर्दा चीनबाट सामान आयात गर्ने व्यवसायी थप समस्यामा परेका छन्।

व्यवसायीहरूले अब वैकल्पिक रूपमा कोरला नाका प्रयोग गर्नुपर्ने अवस्था आएको छ। विशेषगरी दसैँका लागि चीनबाट सामान आयात गर्ने व्यवसायीलाई नाका बन्द हुँदा ढुवानी तथा व्यापारिक गतिविधिमा असर पर्ने देखिएको छ।

प्रतिक्रिया