लमजुङ, १६ भदौ २०८३ ।
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण लमजुङको खत्रीठाँटी–कुन्छा–सोतीपसल सडक स्तरोन्नतिको काम लामो समयदेखि अलपत्र परेको छ । पटकपटक म्याद थपिए पनि सडक निर्माणले गति लिन नसक्दा स्थानीयवासीले वर्षायाममा हिलो र हिउँदमा धुलोको समस्या झेल्दै आएका छन् ।
सुन्दरबजार नगरपालिका–२ हाँडेटारदेखि मध्यनेपाल नगरपालिका–१ निबुवाटारीसम्मको १० दशमलव ८ किलोमिटर सडकको भौतिक प्रगति ४७ दशमलव १७ प्रतिशत मात्रै भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । सडक हिलाम्मे भएपछि वर्षायाममा कतिपय स्थानमा सवारीसाधन सञ्चालन गर्नसमेत कठिन हुने गरेको छ ।
सडकको दुरवस्थाका कारण बिरामीलाई अस्पताल लैजानसमेत समस्या हुने गरेको सुन्दरबजार नगरपालिका–२ का वडाध्यक्ष नवीन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सडकमा पैदल हिँड्नसमेत कठिन हुने अवस्था छ ।
“बिरामी पर्दा एम्बुलेन्ससमेत लैजान नसक्ने अवस्था छ । पटकपटक सम्बन्धित निकायमा दबाब दिँदा पनि निर्माणले गति लिन सकेको छैन”, उहाँले भन्नुभयो ।
निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासीले गत असारमा सडकखण्डमै धान रोपेर विरोध गरेका थिए । उनीहरूले तत्काल सडक सुधार गरी निर्माण कार्यलाई तीव्रता दिन माग गरेका थिए ।
पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख शोभियत खड्काका अनुसार निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोड्ने तयारीसमेत गरिएको थियो । ठेक्का तोड्ने पत्र तयार हुने अवस्थामा पुगेपछि निर्माण कम्पनीले सम्झौता रद्द भए आफूलाई गम्भीर असर पर्ने जनाउँदै काम अघि बढाउने प्रतिबद्धता जनाएको थियो ।
“निर्माण व्यवसायीसँग छलफल गरेर समस्या समाधान गरी निर्माण कार्यलाई अगाडि बढाउने प्रयासमा छौँ”, खड्काले भन्नुभयो ।
कार्यालयका अनुसार सडक स्तरोन्नतिका लागि काठमाडौँस्थित महावीर प्रधान जेभीसँग २०७८ असोज २२ गते २८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८० असार २१ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
निर्धारित समयमा काम पूरा नभएपछि पहिलोपटक म्याद थप गरी २०८१ असार २१ गतेसम्म समय दिइएको थियो । उक्त अवधिमा पनि निर्माण सम्पन्न हुन नसकेपछि पुनः म्याद थप गरी २०८३ असार २० गतेसम्म काम सक्ने समय निर्धारण गरिएको थियो । तर पछिल्लो म्यादसमेत सकिँदा सडक निर्माण पूरा हुन सकेको छैन ।